Logo

आईपीएल: लखनउलाई हराउँदै राजस्थान शीर्ष स्थानमा



मुम्बई, २८ चैत । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सलाई तीन रनले हराएको छ ।

गएराति मुम्बईमा भएको खेलमा लखनउलाई हराउँदै राजस्थानले तेस्रो जित निकालेको हो ।

राजस्थानले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो । लखनउका क्विन्टन डी ककले ३९ रन, मार्कुस स्टोनिसले ३८, दीपक होडाले २५, क्रुनाल पाण्डेयले २२ र दुश्मन्था चामिराले १३ रन जोडे ।

राजस्थानका युजभेन्द्र चाहलले ४ विकेट लिए भने ट्रेन्ट बोल्टले दुई तथा प्रसिद्ध कृष्ण र कुलदीप सेनले एक-एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । राजस्थानका लागि सिम्रन हिटमायरले ५९ रनको अर्धशतकीय पारी खेले भने देवदूत पडिकलले २९, रविचन्द्र आश्विनले २८ र जस बट्लरले १३ रन बनाए ।

लखनउका जोसन होल्डर र कृष्णपा गोथामले दुई-दुई तथा अभेश खानले एक विकेट लिए । जितसँगै राजस्थान अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । राजस्थानले ४ खेलमा ६ अङ्क जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्