Logo

बेन्जेमाको ह्याट्रिकमा साविक विजेता चेल्सी स्तब्ध



काठमाडौँ, ३० चैत । साविक विजेता चेल्सीले उत्कृष्ट पुनरागमन गरेपछि रियाल मड्रिड घरेलु मैदानमा स्तब्ध बन्ने संकेत दिएको थियो । तर, करिम बेन्जेमा पुनः एकपटक नायक बनेपछि रियालका घरेलु समर्थकले सान्टियागो बेर्नाबेउमा खुसी मनाउन पाए ।

बेन्जेमाको ह्याट्रिकमा रियालले च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमै ३–१ को अग्रता लिएको थियो । घरेलु मैदानमा पराजित चेल्सीले गए राति मड्रिडमा सम्पन्न दोस्रो लेगमा भने उत्कृष्ट पुनरागमन गर्दै ३–० को अग्रता लिएको थियो । खेल सकिन १० मिनेट बाँकी हुँदा रोड्रिगोले गोल गरेपछि निर्धारित ९० मिनेटको समय ४–४ को बराबरीमा सकिएको थियो ।

त्यसपछि थपिएको ३० मिनेट समयको छैटौँ मिनेटमै बेन्जेमाले गोल गरेपछि रियालले समग्रमा ५–४ को नतिजा निकाल्दै सेमिफाइनलमा स्थान बनायो । पहिलो लेग ३–१ ले जितेका कारण दोस्रो लेग ३–२ ले हारे पनि समग्रमा विजय हासिल गर्दै रियाल अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

रियालको घरेलु मैदानमा चेल्सीले १५औँ मिनेटमा मासन माउन्टको गोलबाट अग्रता लिएको थियो । ५१औँ मिनेटमा एन्टोनियो रुडिगरको गोलबाट चेल्सीले अग्रता दोब्बर बनायो । ६२औँ मिनेटमा मार्कोस एलोन्सोले गरेको गोललाई भिडियो सहायक रेफ्रीले मान्यता दिएन । ७५औँ मिनेटमा टिमो वेर्नरले तेस्रो गोल थपेपछि चेल्सी जितनजिक पुगेको थियो । तर, अन्तिम १० मिनेट सम्हालिन नसक्दा उल्टै रियाललाई नतिजा सुम्पिएर फर्किनुपरेको हो । रियालका रोड्रिगोले ८०औँ मिनेटमा गोल गरेका थिए

‘‘बेर्नाबेउमा यो अर्को अविश्वसनीय रात रह्यो,’’ रियालका मिडफिल्डर लुका मोड्रिचले भने, ‘‘हामीले संघर्ष गर्नुपर्‍यो । तर, अन्तिमसम्म हिम्मत हारेनौँ । गोलका लागि अन्तिम समयसम्म मिहिनेत गर्‍यौँ । हामीले सक्ने सबै प्रयास गर्‍यौँ । र, अन्तिममा त्यसको फल पनि पायौँ ।’’

बेन्जेमाले अन्तिम–१६ मा पनि रियाललाई जोगाएका थिए । रियाल पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग पहिलो लेगमा १–० ले पछाडि परेको थियो । तर, घरेलु मैदानमा सम्पन्न दोस्रो लेगमा बेन्जेमाले ह्याट्रिक गरेपछि रियालले समग्रमा ३–१ को नतिजा निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

गए राति बेन्जेमाले थपिएको समयमा भिनिसियस जुनियरको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए । जारी सिजन च्याम्पियन्स लिगमा बेन्जेमाको यो १२औँ गोल हो ।

‘‘हामीले धेरै संघर्ष गर्नुपर्‍यो,’’ रियालका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने, ‘‘तर, दुई लेग गरी १८० मिनेटको समयपछि मलाई लाग्यो, हामी जित्छौँ ।’’

योसँगै एन्सेलोट्टीले आठपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाए । उनले जोजे माउरिन्हो र पेप ग्वार्डिओलासँग बराबरी गरेका छन् । रियालले अब म्यानचेस्टर सिटी र एट्लेटिको मड्रिडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सिटीले घरेलु मैदानमा सम्पन्न पहिलो लेगमा १–० को अग्रता लिएको छ ।

गए राति नै सम्पन्न अर्को खेलमा स्पेनकै अर्को क्लब भियारियालले जर्मन क्लब बायर्न म्युनिखलाई स्तब्ध बनाउँदै अन्तिम चारमा स्थान पक्का गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्