काठमाडौँ, ३० चैत । प्रेस काउन्सिल नेपालले आउँदै वैशाख ३० गते हुने पालिका निर्वाचनमा आचारसंहिता पालना भए/नभएकोबारे अनुगमन गर्ने भएको छ ।
काउन्सिलले बुधवार विज्ञप्ति निकालेर आमसञ्चारमाध्यममा आचारसंहिता पालना भए/नभएको अनुगमन गर्नका लागि विशेष अनुगमन कार्यक्रम सञ्चालन गरेको जनाएको हो ।
निर्वाचन आयोगले आचारसंहिता जारी गरिसकेको अवस्थामा काउन्सिलले पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता पालना भए/नभएकोबारे अनुगमन गर्ने भएको हो ।
निर्वाचनका सन्दर्भमा सूचना तथा समाचार सम्प्रेषण गर्दा गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्ति सम्प्रेषण हुन सक्ने हुँदा त्यसतर्फ सञ्चारमाध्यम तथा पत्रकार सजक हुन काउन्सिलले सुझाएको छ । आचारसंहितालाई ख्याल गर्दै आ-आफ्नो सञ्चारमाध्यमबाट स्वतन्त्र भूमिका खेल्न, कुनै दल तथा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर, पक्ष र विपक्षमा समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिल नेपालले अपिल गरेको छ ।