Logo

ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धतामा नेपालको जोड



काठमाडौँ, ७ वैशाख । नेपालले ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धता अपरिहार्य भएकामा जोड दिएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) ऊर्जा मन्त्रीहरूको तेस्रो बैठकमा ऊर्जा सुरक्षामा जोड दिइएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले श्रव्य-दृश्यका माध्यमबाट आज काठमाडौँमा भएको बैठकमा बिमस्टेक देशका झन्डै एक अर्ब ७० करोड जनताको भविष्यलाई दृष्टिगत गरी ऊर्जा क्षेत्रले सामना गरिरहेका गम्भीर समस्यालाई सम्बोधन गर्न पारस्परिक विश्वास, भावी प्रयासहरूमा स्पष्टता र उद्देश्यमा इमानदारी अत्यन्त महत्त्वपूर्ण भएको बताइन् ।

आजको हाम्रो विचार-विमर्शले बिमस्टेक क्षेत्रमा ऊर्जा सहयोग अभिवृद्धि गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले ऊर्जाका लागि पर्याप्त वित्त परिचालनका साथै प्रविधि हस्तान्तरणलाई बढावा दिनुपर्ने बताइन् ।

सदस्य देशका अर्थतन्त्रबीच सबै पक्षमा बढेको अन्तरसम्बन्धले क्षेत्रीय सहयोगको भावनालाई वास्तविकरूपमा अगाडि बढाउन मद्दत मिल्ने उनले बताइन् । काठमाडौँमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनमा बिमस्टेक ‘ग्रिड इन्टरकनेक्शन’ स्थापनाका लागि भएको समझदारीको चर्चा गर्दै उनले भन्नि, ‘ऊर्जा व्यापार एउटा महत्त्वपूर्ण विषय हो, यसले हाम्रो देशमा बिजुलीको बरबादि र ऊर्जा अभावको जोखिमलाई कम गर्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्