Logo

नौ महिनामा २८ प्रतिशतले बढ्यो व्यापार घाटा



काठमाडौँ, ९ वैशाख । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो ।

विभागको तथ्याङ्कअनुसार नौ महिनामा एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गएको आर्थिक वर्षको त्यही अवधिमा नेपालबाट ९४ अर्ब ७६ करोड ७१ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।

चालु आवको नौ महिनामा निर्यातसँगै आयातमा समेत वृृद्धि भएको छ । नौ महिनामा ३१ दशमलव ९७ प्रतिशतले आयातमा वृद्धि हुँदै १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रुपैयाँभन्दा बढीको आयात भएको छ । तथ्याङ्कअनुसार गएको आर्थिक वर्षको त्यही अवधिमा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख रुपैयाँभन्दा बढीको आयात भएको थियो ।

निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । चालु आवको नौ महिनामा साढे १४ खर्ब रुपैयाँभन्दा बढीकाे आयात हुँदा २८ दशमलव ४७ प्रतिशतले व्यापार घाटा बढेको हो । चालु आवको नौ महिनामा नेपालले १३ खर्ब छ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार घाटा बेहोरेको छ । गएकाे आवको त्यही अवधिमा नेपालले १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको थियो ।

यस्तैगरी चालु आवको नौ महिनामै नेपालको वैदेशिक व्यापार ३४ दशमलव ९१ प्रतिशतले बढेको छ । यस अवधिमा १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख रुपैयाँ बराबरको पुगेको भन्सार विभागले जनाएको छ । तथ्याङ्कअनुसार गएकाे आर्थिक वर्षको त्यही अवधिमा १२ खर्ब छ अर्ब १६ करोड २५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्