Logo

गठबन्धनको निर्णयविरुद्ध उम्मेदवारी दर्ता गरे फिर्ता गरिने



काठमाडौँ, १२ वैशाख । पाँच दलीय सत्ता गठबन्धनले देशैभरका गठबन्धन कायम राख्न कसरत गर्ने निर्णय गरेको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तहमा गठबन्धनलाई एक ढिक्का राख्न अन्तिम समयसम्म कसरत गर्ने निर्णय गरेको हो।

बैठकले देशभरका स्थानीय तहमा सकेसम्म सहमति गरेर गठबन्धनका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको छ। गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको विषयमा केन्द्रबाटै तालमेलको निर्णय गरेपनि नगरपालिका र गाउँपालिकाको हकमा भने देशैभर धेरै ठाउँमा गठबन्धन हुन नसकेको नेताहरुले बताएका छन्। नेताहरूले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आव्हानसमेत गरेका छन् ।

उम्मेदवारको मनोनयन दर्ता गर्दा गठबन्धनको निर्णयअनुसार गर्न गठबनधन सबै दलका आ–आफ्ना संयन्त्रमार्फत् निर्देशन दिएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘बैठकमा पाँच दलको भावना र मर्मअनुसार अगाडि बढ्ने र कतै आन्तरिक केही असमझदारीहरु छन् भने तिनीहरुलाई समझदारीमा परिणत गर्ने निर्णय भएको छ। जनमतलाई ध्यानमा राखेर आफ्ना गतिविधिहरुलाई अगाडि बढाएर पाँच दलको जुन निर्णय छ, त्यही निर्णय अनुसार सबैलाई मनोनयन गर्नका निमित्त निर्देशन दिने कुरा भएको छ’, मन्त्री कार्कीले भने, ‘केही असमझदारीहरु छन्, सिट थोरै छ। योगदान गरेका धेरै साथीहरु हुनुहुन्छ। स्वाभाविकरुपले उहाँहरुको आकांक्षा हुनुलाई अन्यथा ठहर्‍याउन सकिन्नँ । तर पार्टीको जुन मर्यादा छ, अनुशासन छ र अहिलेको जुन आवश्यकता छ, त्यसलाई हृदयंगम गरेर पार्टीले जुन निर्णय गर्छ, त्यो निर्णयलाई पालना गरेर अगाडि बढ्नुको विकल्प छैन ।’

यदि कसैले गठबन्धनको निर्णय विपरीत उम्मेदवारी दर्ता गराएपनि त्यस्ता असमझदारीहरूलाई सम्बोधन गरेर सहमतिमा ल्याइने कार्कीले बताए। ‘केही छुटफुट उम्मेदवारीहरु दर्ता भएपनि तिनीहरुलाई फेरी सहमति गरेर पाँच दलको एउटै उम्मेदवारहरु देशभरि हुनेछन्’, उनले भने, ‘कसैले गठबन्धनको निर्णय विपरीत दर्ता गर्‍यो भने पनि त्यो पछि फिर्ता गराइन्छ।’

प्रतिक्रिया दिनुहोस्