Logo

पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको लाइन काट्ने चेतावनी



काठमाडौँ, १४ वैशाख । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बक्यौता रकम भुक्तानी गर्न सेवा प्रदायक कम्पनीलाई आग्रह गरेको छ ।

प्राधिकरणले बुधवार सूचना निकालेर विद्युतीय संरचनाहरू प्रयोग गरी अप्टिकल फाइबर भाडामा लिइ टेलिफोन/इन्टरनेट/केवल टीभी सेवा सञ्चालन गर्ने सेवा प्रदायक कम्पनीलाई बक्यौता रकम भुक्तानी गर्न आग्रह गरेको हो ।

पोल भाडा बक्यौता रकम भुक्तानीका लागि वैशाखसम्मको समय तोकिएको भन्दै प्राधिकरणले तोकिएको समयमा सम्झौता गर्न, नवीकरण गर्न एवम् अहिलेसम्मको बाँकी बक्यौता रकम भुक्तानी गर्न आग्रह गरेको छ ।

वैशाखसम्म बक्यौता रकम भुक्तानी नगरे तार काट्ने चेतावनी प्राधिकरणले दिएको छ । केही सेवा प्रदायक संस्थाहरूले केही क्षेत्रको मात्र पोल भाडा सम्झौता गरेको तथा केही सेवा प्रदायक संस्थाहरूले सम्झौता नै नगरि विद्युतीय संरचनाहरू प्रयोग गरिरहेको सूचनामा उल्लेख छ ।

प्राधिकरणले यसअघि पटक-पटक सार्वजनिक सूचना आह्वान गर्दै सेवा प्रदायक कम्पनीलाई पोल भाडा भुक्तानी तथा नवीकरणका लागि आउन आग्रह गर्दै आएको छ । प्राधिकरणले २०७७ मा काठमाडौँ लगायतका सहरी क्षेत्रमा दोब्बर र ग्रामीण भेगमा आठ गुणाभन्दा बढीले पोलको भाडा बढाएको भन्दै सेवा प्रदायक कम्पनीहरूले बढेको मूल्य फिर्ताको माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्