Logo

झापामा नमूना मतदानको अभ्यास



झापा, १६ वैशाख । स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यालय झापाले बिहिबार मेची क्याम्पस भद्रपुरमा नमूना मतदान अभ्यास गराएको छ । जिल्लामा पहिलोपटक गरिएको नमूना मतदान अभ्यास कार्यक्रममा ३५ जना विद्यार्थी सहभागी भएका थिए ।

नमूना मतदानस्थलमा जिल्लाका मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले निर्वाचन अधिकृतको भूमिका निर्वाह गर्नुभएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल सहायक मतदान अधिकृतका रुपमा रहेका थिए ।

नमूना मतदानस्थलमा मतदाताको नाम रुजु गर्नेमा आन्तरिक लेखा नियन्त्रण कार्यालयका प्रमुख मधु पोखरेलले भूमिका निर्वाह गरेका थिए । मतपत्र दिनेमा आन्तरिक राजस्व कार्यालयका प्रमुख शुभ रिजाल, कर्मचारीका रुपमा जिल्ला हुलाक कार्यालयका प्रमुख दामोदर घिमिरे र पूर्वाधार विकास कार्यालयका प्रमुख रमेश श्रेष्ठ रहेका थिए ।

सुरक्षा निकायका प्रमुख र म्यादी प्रहरीसमेत राखेर गरिएको मतदान केन्द्रमा अपाङ्गता भएका, ज्येष्ठ नागरिक, महिला र पुरुषका लागि छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको थियो । निर्वाचनमा पूरा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेर सुरु गरिएको कार्यक्रममा निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले मतदान कुन पदमा कसरी गर्ने भन्नेबारेमा जानकारी दिए ।

राजनीतिक दलका प्रतिनिधिका रुपमा पनि विद्यार्थीलाई राखेर गरिएको कार्यक्रममा मतदानपछि मतपेटिकालाई सिलप्याक गरेर निर्वाचन कार्यालयमा ल्याएर गणना गरिएको थियो । मतगणनामा ३५ मध्ये पाँच मत बदर रहेको निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेम न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्