Logo

बिर्तामोडलाई स्वास्थ्य र शिक्षाको हव बनाउने: पवित्रा महतारा प्रसाई



झापा, २० वैशाख । बिर्तामोड नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई स्वास्थ्य र शिक्षाको हव बनाउने बताएकी छिन् ।

स्थानीय तह निर्वाचनको लागि चुनावी प्रचारको क्रममा वडा नम्बर ३ मा आयोजना गरीएको कोणसभालाई सम्वोधन गर्दै उनले यस्तो बताएकी हुन् । उम्मेदवार प्रसाईले २०७४ सालको निर्वाचनपछि नगरमा रहेका सामुदायिक विद्यालयहरुको अवस्था फेरिएको र यसलाई अझै व्यवस्थित ढंगले विकास गरीने बताइन् । निवर्तमान नगर उपप्रमुख समेत रहेकी प्रसाईले आफुहरु जनप्रतिनिधि भएर आउँदा सरकारी विद्यालयहरुमा विद्यार्थीहरु बसेर पढ्न नसक्नेगरिका कक्षा कोठा, शौचालयको अभाव, पठनपाठनमा समस्या रहेको भएपनि यसलाई सुधार गरेर अहिले स्मार्ट बनाउँदै लगएिको बताइन् ।

बिर्तामोडमा १८ वटा सामुदायिक विद्यालय र ३ वटा धार्मीक विद्यालय रहेका छन् । नेकपा एमालेले कक्षा १२ सम्मको शिक्षा पुर्णरुपमा निशुल्क गर्ने, एक विद्यालय एक प्राविधिक शिक्षा भन्ने नीतिलाई आत्मसाथ गर्दै हरेक सामुदायिक विद्यालयको माध्यमिक तहमा प्राविधिक शिक्षा प्रदान गर्ने,प्राविधिक तथा व्यवसायिक क्याम्पस स्थापना गर्ने, शिक्षक तालिम केन्द्र स्थापना गर्ने लगायतका कार्यक्रमहरु प्रतिवद्वता पत्रमा सार्वजनिक गरेको छ । यस्तै स्वास्थ्य तर्फ पनि बिर्तामोडबासीलाई स्वस्थ जीवन शैली सुनिश्चित गर्न सुलभ स्वास्थ्य सेवा प्रदान गर्दै मेडिकल हवको रुपमा विकास गर्ने जनाइएको छ ।

यस्तै कोणसभालाई सम्बोधन गर्दै नगर उपप्रमुखका उम्मेददवार नगेन्द्र प्रसाद संग्रौलाले बिर्तामोड नगरपालिकाले यस अघि धेरै राम्रा काम गरेको बताए । उनले ६९ किलोमिटर सडक कालो पत्रे,बजार तथा ग्रामिण भेगका अधिकांस टोलहरु जोड्ने १७ किलोमिटर सडकमा पेवर्स तथा व्लक लगाइएको जानकारी दिए । उम्मेदवार संग्रौलाले अवको ५ वर्ष भित्रमा बिर्तामोडमा १२५ किलोमिटर सडक कालोपत्रे गर्ने समेत बताए ।

यस्तै कोणसभालाई सम्बोधन गर्दै वडाध्यक्ष पदका उम्मेदवार मदन बुढाथोकीले आफु लगायत नगरकोे सिङ्गो टिमलाई अत्यधिक मत दिएर जिताउन मतदाताहरुसंग आग्रह गरे । वडामा रहेका समस्या समधानका लागि आफु संधै जनताको सेवक भएर काम गर्ने प्रतिवद्वता समेत जनाए ।

नेकपा एकालेको चुनावी प्रचार अभियानका क्रममा आज मंगलबार बिर्ताबजार, सैनिकमोड, प्रगतिनगर टोल, शान्ति टोल लगायतका क्षेत्रमा पुगेर कोणसभाको आयोजना गरीएको थियो । कोणसभालाई एमाले झापा इञ्चार्ज अग्नि खरेल, प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेल, राष्ट्रिय सभाका पुर्वसदस्य हरिचरण शिवाकोटी, प्रदेश सांसद एकराज कार्की लगायतका नेताहरुले संवोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्