Logo

नेपालले जिम्बावे ‘ए’ लाई हरायाे



काठमाडौँ, २१ वैशाख । जिम्बावे ‘ए’ सँगको तेस्रो तथा अन्तिम टी-२० अभ्यास खेलमा नेपाल आठ विकेटले विजयी भएको छ ।

जिम्बावे ‘ए’ ले दिएको एक सय ३७ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा दुई विकेट गुमाएर भेटायो । नेपालका लागि आसिफ शेखले नटआउट ८७ रन बनाए । यस्तै कुशल भुर्तेल ३४ र बसिर अहमद १० रन बनाएर आउट भए । बलिङतर्फ जिम्बावे ‘ए’ का लोके जोङ्गी र ब्रान्डन मभुताले एक-एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ‘ए’ ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३६ रन बनायो । उसका लागि रोए कायाले ४९, तदिवान्शे मौरामनीले २७ र लुके जोङ्गेले नटआउट २३ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र बसिर अहमदले एक-एक विकेट लिए । योसँगै तीन खेलको शृङ्खला एक-एकको बराबरीमा सकिएको छ । यसअघि पहिलो टी-२० खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्