Logo

रोल्पाको माडीमा कार्यकर्ताबीच झडप, वडाध्यक्षका उमेदवार घाइते




रोल्पा, २२ वैशाख ।
रोल्पाको माडी गाउँपालिका–३, तालाबाङमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच गए राति झडप भएको छ ।

झडपमा परेर कांग्रेसका वडाध्यक्षका उमेदवार मीनबहादुर डाँगी घाइते भएका छन् । तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्रममा झडप भएको हो ।

डाँगीलाई रड प्रहार गरी सख्त घाइते बनाइएको कांग्रेस क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति गोपाल घर्तीले जानकारी दिए । उनलाई उपचारका लागि दाङतर्फ लगिएको छ ।

बाटोमा डाँगी चढेको गाडी नियन्त्रमा लिएर उनीमाथि आक्रमण गरिएको घर्तीको आरोप छ । आफ्ना कार्यकर्तामाथि आक्रमण भएपछि प्रतिकार गरेको माओवादी केन्द्रका माडी गाउँपालिका सचिव वीरबहादुर घर्तीले बताए ।

झडपलगत्तै प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए । “अहिले अवस्था सामान्य छ,” उनले भने ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि माडी गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तथा कांग्रेस र एमालेबीच छुट्टाछुट्टै चुनावी तालमेल भएको छ ।

प्रतिक्रिया दिनुहोस्