Logo

एमालेको चुनावी अभियानमा हाँस्यकलाकार राई सक्रिय



झापा,२६ वैशाख । बिर्तामोड नगरपालिकामा नेकपा एमालेका उम्मेदवारलाई जिताउने अभियानमा हाँस्यकलाकार विल्सन विक्रम राई सक्रिय भएका छन् । हाँस्यकलाकार राईले आइतबार बिर्तामोडका विभिन्न स्थानमा भएका कोणसभामा विकास र समृद्विको लागि नेकपा एमालेका उम्मेदवारलाई भारीमतले विजयी गराउन सबैसंग आग्रह गरे ।

बिर्तामोड नगरपालिकाको लागि नेकपा एमाले तर्फका उम्मेदवारहरुले पार्टीले सार्वजनिक गरेको प्रतिवद्वता पत्रलाई अक्षरस पालना गर्ने बताएका छन् ।

नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले आइतबार आयोजित चुनावी प्रचार अभियान अन्तर्गतको कोणसभालाई सम्बोधन गर्दै नगरको विकासका लागि प्रतिवद्वता पत्र हबहु कार्यान्वयन गर्ने बताइन् । उनले आफ्नो ५ वर्षको कार्यकालमा सशक्त ढंगले प्रतिवद्वता पुरा गर्ने बताइन् । प्रतिवद्वता पत्रमा जनमुखी कामहरु समेटीएको बताउँदै उनले एक पटक सबैले पढ्न आग्रहसमेत गरिन् ।

यस्तै नगर उपप्रमुखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले प्रतिवद्वता पत्रमा उल्लेख गरिएका योजनाहरु अक्षरस पालना गर्दै कार्यान्वयन गरिने बताए । स्वास्थ्य,शिक्षा,कृषि,पशुपंछी,पर्यटन,भौतिक पुर्वाधार,व्यवसाय,खेलकुद लगायतका विभिन्न क्षेत्रका महत्वपुर्ण योजनाहरुलाई प्रतिवद्वता पत्रमा समेटीएको भन्दै उहाँले कार्यान्वयन गरिने बताए ।

बिर्तामोडमा गठवन्धन भन्दा बलियो देखिएको नेकपा एमालेका उम्मेदवारहरुले नगरका सबै टोलमा पुगेर यस अघि एमाले सरकारले नगरमा गरेका काम र भावी योजनाका बारेमा जानकारी गराउँदै आएका छन् । नेकपा एमालेले आइतबार वडा नम्बर ८ का गरामनी, हर्चना, नेपाल चोक लगायतका स्थानमा कोण सभा सम्पन्न गरेको छ । कोणसभामा एक हजार भन्दा बढीको उपस्थिति रहेको थियो ।

वडा नम्बर ८ को कोणसभामा एमाले झापा इञ्चार्ज अग्नि खरेल, प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल, राष्ट्रियसभाका पूर्व सदस्य हरिचरण शिवाकोटी, एमाले प्रदेश १ कमिटि इञ्चार्ज देवराज घिमिरे लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्