Logo

आज २०७९ वैशाख २७ गतेकाे राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय हो । नयाँ कामको प्रस्ताव आउनेछ र बुद्धिको प्रयोग गरेमा लाभसमेत पाउन सकिने छ । घरपरिवार, जीवनसाथीको कामधाम र छोराछोरीको चिन्तामा मन केन्द्रित हुनसक्छ । मन एकतमासको बन्नसक्छ, तर चिन्ता गरिरहनु पर्ने परिस्थिति देखिंदैन । पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो । सिनियर विद्यार्थी वा गुरुजनको सहयोग पाउनाले थप हौसला मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आवेगहरूमा नियन्त्रण गर्न नसक्नाले निराशा र खिन्नताको अनुभूति हुनसक्छ, अत: आफ्ना लागि समय प्रदान गर्नु र चिन्तन गरी वर्तमान समस्याको हल गर्ने प्रयास गर्नु उपयोगी हुनेछ । परिस्थिति अनुकूल देखिए पनि भौतिक सुविधा बढाउन थप व्ययभार थपिने दिन हो, त्यस्तै मनोरञ्जनात्मक क्रियाकलापमा अलमलिंदा गर्नैपर्ने काममा बिलम्ब हुनेछ । सँगीसाथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्न सक्छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

हर्षित हुने कुनै समाचार सुन्न पाइने छ । सानो प्रयासले भाग्य बढ्ने समय भएकाले थोरैमात्र प्रयास गरेमा आम्दानीका मार्ग बढ्नेछन् । सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । बिजुलीका उपकरण, खेलकुद सामाग्री र फलामसम्बद्ध निर्माणको कामबाट फाइदा लिन सकिने दिन हो । मान्यजनको सामीप्य प्राप्त हुने तथा उहाँहरूलाई आदरभाउ गर्नुपर्ने दिन छ । दाजुभाइ वा माइतीपक्षसँग सम्पर्क गरी भलाकुसारी गर्ने समय हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

मौखिक अभिव्यक्ति, साहित्य, कला र मनोरञ्जनसँग सम्बन्धित विषयको ज्ञानप्राप्तिका लागि राम्रो समय देखिन्छ ।  धन भए पनि खर्च गर्नुपर्दा होस राखेर चल्नुपर्ने दिन हो । काम पूरा नभए पनि रमाइलो जमघटमा सहभागी बन्ने अवसर आउला । मौखिक अभिव्यक्ति, कला र सिर्जनाका कामबाट ख्याति बढ्नेछ । धन बढाउन गरिएको प्रयास सफल हुनेछ वा ऋण उठाउने वा फँसेको धन उकास्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ । घरायसी र व्यवहारिक काममा खट्दासमेत फुर्ती जाग्न गई तन पनि स्वस्थ रहनेछ । आशा देखाउने र आश्वासन दिनेले धोका दिनसक्ने समय हो । आफूलाई धैर्य र संयम बनाउनु राम्रो हुन्छ, किनकि यतिबेला कुनै लफडा वा झमेलामा फँस्ने सम्भावना देखिन्छ । बिक्रीबट्टामा बढावा हुने र थप हौसला जाग्ने समय हो । हिसाबकिताबमा देखिएको कमजोरी र त्रुटि सच्याएर अघि बढेमा अझ धेरै फाइदा लिन सकिने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

खर्चको मात्रा बढ्नुका साथै वैचारिक अस्थिरता देखिने दिन छ, तथापि सँगीसाथीको मद्दत लिएर हिम्मतका साथमा प्रयास गरेमा पेसागत र व्यवसायिक परिस्थितिमा सुधार आउने छ । सानोतिनो यात्रामा जानुपर्दा व्यापारमा ध्यानकेन्द्रित हुनसक्दैन । दण्ड वा जरिवानामा पर्न सकिने वा कुने कानूनी बाधाअड्चन ब्यहोर्ने समय हो ।  सोचेभन्दा बढी खर्च हुनाले बजेट सन्तुलनमा नरहन सक्छ । मनोमालिन्य बढ्ने समय पनि हो । परिस्थितिलाई बुझेर चल्नुपर्ने दिन हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

ज्ञान र अनुभूतिमा बृद्धि हुनेछ । अड्डा–अदालतमा अड्किएको काम गर्नु छ भने अथवा कुनै बाँकीबक्यौता रकमको कारोबार मिलाउनु छ भने आजको प्रयास राम्रो हुन्छ । लिंढेदिपी गर्नुभन्दा पनि बुद्धिको उपयोग गर्नाले लक्ष्यप्राप्ति हुने समय हो । विवेक र सुझबुझको प्रयोग गरेमा रोकिएको कामले निकास पाउन सक्छ । भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, तर साँझपख बेचैनी बढ्ने समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

नयाँ समझौता वा करारका माध्यमबाट थप आयस्रोत बढ्नसक्छ । जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामाग्रीमा लाभ हुनेछ । घरायसी रमझम र कामधामबाट फुर्सद निकाल्न सकिंदैन, कामकाजी महिलाले कार्यक्षेत्रमा उन्नति गर्नेछन्, तर पनि पारिवारिक जिम्मेबारी वहन गर्नुपर्ने हुन्छ । अहिले गरेको मिहिनेतले भविष्य सुध्रने सङ्केत छ, उच्च शिक्षाका छात्रछात्राले भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

चित्त नबुझेका कुरा प्रकाशमा ल्याए उपाय निस्कने छ । सामाजिक कार्यमा प्रतिष्ठा र सम्मान मिल्नेछ । माङ्गलिक कर्म गर्ने सोच पलाउने दिन हो । ज्ञानको भण्डार पूर्ण हुने तथा दार्शनिक भावना जाग्ने समय हो, मनमा कुनै नयाँ कुरा सल्बलाउँदै छ भने साथीहरू र गुरुसँग छलफल गरेमा थप लाभ पाउन सकिन्छ । मातापिता, अभिभावक र मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । ठूलाबडाको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

मानसिक संवेगको उतारचढावले लक्ष्यप्रति ध्यानकेन्द्रित नहुने समय छ, आज कार्यक्षेत्रको बोझ घरमा लिएर जानु हुँदैन । पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा खुम्चनुपर्दा मन निराश बन्ने समय हो । घरपरिवारमा सम्पर्क राखी भलाकुसारी गर्ने र पारिवारिक खरखाँचोका बारेमा जानकारी बटुल्ने समय हो । कुनै आकस्मिक भ्रमणबाट ज्ञान र धन जुटाउने अवसर मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइने समय हो, आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ । कामकाजको चाप र घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनमा किचलो र विवाद हुने कमजोर दिन हो । कुनै पनि कुरालाई गम्भीरतापूर्वक सोचविचार गरेरमात्र निर्णय लिनु जायज हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

दैनिक काम सजिलै सम्पन्न हुने दिन छ । कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् । उत्साहमा पनि बृद्धि हुनेछ, तर झगडा र कलहबाट टाढिएको जाती हुन्छ । विवाद, प्रतियोगिता वा प्रतिस्पर्द्धामा सरिक हुँदा चुनौती झेलेर अघि बढ्ने समय हो, योजनाबद्ध तैयारी गरे विजय तपाईंको पोल्टामा हुनेछ । सोचेजस्तै लाभ प्राप्त गर्न केही समय कुर्नुपर्ने हुन्छ । स्वास्थ्यस्थितिमा सामान्य असर पर्ने समय छ, खानपान र आहारविहारको अनुशासन पालना गरेको जाती हुन्छ ।

प्रतिक्रिया दिनुहोस्