Logo

चुनाव विरोधी गतिविधि गर्नेलाई कारबाही हुन्छ: गृह मन्त्रालय



काठमाडौँ, २७ वैशाख ।  गृह मन्त्रालयले चुनाव विरोधी गतिविधि गर्नेलाई कारबाही हुने जनाएको छ ।

चुनाव बिथोल्ने, शान्ति र सहिष्णुता खल्बल्याउने तथा मतदातालाई स्वतन्त्र रूपले आफ्ना प्रतिनिधि छनोट गर्ने अवसरलाई प्रभावित पार्ने जो कोही पनि कानुनबमोजिम कारबाही हुने गृहले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

केही राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारबाट चुनाव प्रचारप्रसारका नाममा आपसी द्वन्द्व, विवाद तथा झैझगडाका छिटफुट घटना घट्ने गरेका, आचारसंहिताको प्रतिकूलका क्रियाकलाप भइरहेका सूचना प्राप्त भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

चुनावलाई शान्त स्वच्छ, निष्पक्ष धाँधलीरहित तथा भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्नु सबैको कर्तव्य रहेको र कानुनविपरीतका गतिविधिमा संलग्नको सुरक्षा निकायबाट सुक्ष्म निगरानी गरिरहेको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणिन्द्रमणि पोखरेलले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्