Logo

आज र भोलि मतदाता परिचयपत्र वितरण गरिने



काठमाडौँ, २८ वैशाख । निर्वाचन आयोगले आज र भोलि मतदाता परिचयपत्र वितरण गर्नुका साथै मतदातालाई भोट हाल्ने तरिका सिकाउने भएको छ ।

आयोगले नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालयलाई पत्राचार गरेको छ । आज र भोलि सबै मतदातालाई मतदान गर्ने तरिका सिकाउने र मतदातालाई मतदाता शिक्षासम्बन्धी जानकारी दिएपछि पर्सि बिहान ७ देखि बेलुका ५ बजेभित्र मतदान गर्न आउन आग्रह गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिएर जानु पर्नेछ । मतदाताले हरेक पदका लागि आफूले रोजेको सात जना उम्मेदवारको चिह्न रहेको ठाउँमा कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्