Logo

प्रदेश–१ का सबै सीमानाका ‘सिल’



विराटनगर, २८ वैशाख । स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर–१ का प्रमुख सीमानाका ‘सिल’ गरिएको छ । नाका सिल गरिएसँगै भारतबाट नेपाल र नेपालबाट भारततर्फ आउजाउ बन्द भएको छ । मालवाहक सवारीसाधनको आवागमन पनि आज बिहानैबाट बन्द भएको छ ।

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार इलामका सीमानाका गए राति नै सिल गरिएको हो । राति १२ बजेदेखि भारतसँग सिमाना जोडिएका इलामका नाकाबाट आउजाउ बन्द भएको छ । प्रशासनले जिल्लाभर मदिराको बिक्री–वितरण, ओसारपसार र प्रयोगमा समेत रोक लगाएको छ ।

इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले सूचना प्रकाशन गर्दै जिल्लाका सबै अन्तर्राष्ट्रिय नाकाहरू मंगलबार रातिदेखि शुक्रबार राति १२ बजेसम्म बन्द गरिएको जनाएका छन् ।

मतदान सकिएपछि नाका पूर्ववत् सञ्चालन हुने प्रजिअ ढुंगानाले बताए । उनले भने, “मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवन पूर्ण निषेध गरिएको छ ।”

प्रशासनले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ७१ मा भएको व्यवस्थाअनुसार जिल्लाका सबै क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्ण रोक लगाएको हो । निर्देशिका अनुसार मौन अवधिमा मादकपदार्थको बिक्री–वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।

यस्तै, विराटनगरको जोगबनी नाका पनि बिहानैदेखि बन्द गरिएको छ । भन्सार क्षेत्र भएर हुने मालवाहक सवारीसाधनको आउजाउ बन्द भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

मोरङको ६३ किलोमिटर नेपाल–भारत सीमा क्षेत्रमा २६ वटा नाका छन् । मोरङ र सुनसरीतर्फका साना नाकाहरू कुवाडी, मटेरुवा, गडेरिया, भेडियारी, भुटाहा, डुमरिया, खयरवाना, धनपति, मिर्चियाडांगी सोराभाग, चोप्राहा, भान्टाबारी नाकालगायत नाका पनि सिल गरिएको छ । साना नाकाबाट हुने मानिसको आउजाउ समेत पूर्ण रूपमा बन्द भएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले सूचना प्रकाशित गरी शुक्रबार राति १२ बजेसम्म सीमानाका बन्द गरिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचन अवधिभर दुवै देशका नागरिक आउनजान नपाइने बताए ।

विराटनगर भन्सार कार्यालय भएर दैनिक ३०० मालवाहक गाडी आउजाउ गर्ने गर्छन् । झापाको काँकडभिट्टासहित छोटी भन्सार कार्यालय र अरू नाकाहरू समेत सिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्