Logo

मतदानका दिन नियोकले ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने



काठमाडौँ, २८ वैशाख । स्थानीय तह निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले राष्ट्रियस्तरमा ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने भएको छ ।

मतदानका दिन स्थलगतरूपमा खटिएका पर्यवेक्षकसँग नियमित एवं प्रत्यक्ष सम्पर्क स्थापना गरी सूचना सङ्कलन र सम्प्रेषणलाई जीवन्त एवं विश्वसनीय बनाउन सेन्टर स्थापना गर्न लागिएको नियोकका अध्यक्ष प्रा कपिल श्रेष्ठले जानकारी दिए ।

कल सेन्टर सञ्चालनमा प्राविधिक विज्ञ तथा तालिम प्राप्त सूचना सङ्कलक गरी ६० देखि ६५ जनाको जनशक्ति व्यवस्था गरिने पनि नियोकले जनाएको छ । मतदानस्थलमा कुनै अप्रिय घटना भएमा सोको विवरण कल सेन्टरमा राखिएका दुईवटा नम्बरमा जानकारी गराउने व्यवस्था मिलाइएको छ । यसका लागि नियोकले ९८००८३४१४७ र ९८४१४५५५०४ गरी दुई वटा हटलाइन नम्बर उपलब्ध गराएको नियोकका महासचिव देविकानन्द तिमल्सिनाले बताए । दुवै नम्बर वैशाख ३० गते निर्वाचनका दिन २४ सै घण्टा खुला रहने छ ।

नयाँबानेश्वरको अल्फा हाउसमा सञ्चालन गरिने कल सेन्टरमा सञ्चारकर्मीका लागि मिडिया सेन्टर पनि स्थापना गरिने भएको छ । मिडिया सेन्टरमा बिहान १०:३०, अपराह्न २:३० र साँझ ७:३० बजे पर्यवेक्षणसम्बन्धी जानकारी दिन पत्रकार सम्मेलनको आयोजनासमेत गरिने भएको छ ।

स्वतन्त्र, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण निर्वाचन नै लोकतन्त्रको आधारशीला भएकाले स्थानीय तहको निर्वाचन इमान्दारी, जिम्मेवारी र जवाफदेहीरूपमा सम्पन्न गराउन नियोकले निर्वाचन आयोग, सरकार, राजनीतिक दल, उम्मेदवारलगायत सरोकार भएका सबैमा आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्