Logo

ताप्लेजुङमा मतगणना सुरु, याङमामा १४ मत खस्यो



ताप्लेजुङ, ३१ वैशाख । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको ताप्लेजुङमा मतगणना सुरु भएको छ । मेरिदेन र आठराई त्रिवेणी गाउँपालिकामा गएरातिदेखि मतगणना सुरु भएको छ ।

नौ स्थानीय तहमध्ये मेरिङदेनमा ५०० मतगणना भएको जिल्ला निर्वाचन कार्यालयले ताप्लेजुङले जनाएको छ ।

आठराई त्रिवेणी गाउँपालिकामा पनि मतगणना सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ । फुङ्लिङ नगरपालिकासहित सात स्थानीय तहमा भने सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जिल्ला निर्वाचन आयोगले जनाएको छ ।

६४ प्रतिशत मत खस्यो

ताप्लेजुङमा ६४ प्रतिशत मत खसेको छ । ८९ हजार ६८० मतदाता रहेको जिल्लामा ६४ प्रतिशत मत खसेको हो । एक नगरपालिकासहित नौ स्थानीय तहमा १२२ मतदान केन्द्रबाट मतदान भएको थियो । पाथिभरा याङ्वरक गाउँपालिकामा ६१.९९ प्रतिशत, आठराई त्रिवेणी गाउँपालिकामा ६२ प्रतिशत, मैवाखोला गाउँपालिकामा ६५.११ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

सिदिंवा गाउँपालिकामा ६२ प्रतिशत, फक्ताङलुङ गाउँपालिकामा ६५.३५ प्रतिशत, सिरिजङ्घा गाउँपालिकामा ६२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत दिनेश खनालले जानकारी दिए । यस्तै जिल्लाको एकमात्र नगरपालिका फुङ्लिङ नगरपालिकामा ६४ प्रतिशत, मेरिङदेनमा ७१ प्रतिशत र मिक्वाखोला गाउँपालिकामा ६५ प्रतिशत मत खसेको हो ।

याङमामा १४ मत मात्र खस्यो

सदरमुकामदेखि सबैभन्दा टाढा रहेको बस्ती याङमामा १४ मतखसेको छ । दश पुरुष र चार महिलाले मतदान गरेको जिल्ला निर्वाचन अधिकृत खनालले बताए ।

साठी मतदाता रहेको याङ्मामा मत सङ्कलनका लागि कर्मचारी र सुरक्षाकर्मी गरी नौ जना खटिएका थिए । उनीहरुका लागि दुई लाख बढी खर्च भएको निर्वाचन आयोगले जनाएको छ । सदरमुकाम फुङ्लिङबाट गाडीमा यात्रा गरेर र पैदल हिँडेर तीन दिनमा मात्रै यो बस्तीसम्म पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्