Logo

महरा भन्छन्, ‘चुनावको रिमोट कन्ट्रोल अन्यत्र कतै जाँदै’



दाङ, १ जेठ । पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले चुनावको रिमोट कन्ट्रोल अन्यत्र कतै जान थालेको दाबी गरेका छन् ।

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका लगायत केही पालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेको प्रसंग उल्लेख गर्दै उनले दलहरूलाई बाइपास गर्ने काम हुन थालेको बताए ।

उनले ‘अन्यत्र’ भनेर दलबाहिरका शक्ति समूहलाई लक्षित गरे पनि यसबारे केही व्याख्या गरेनन् । घोराहीस्थित रेडियो मध्यपश्चिमको १६ औं स्थापना दिवसका अवसरमा आइतबार बिहान घोराहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महराले यस्तो बताएका हुन् ।

उनले अनपेक्षित निर्वाचन परिणाम आउन थालेको पनि बताए । यसले निर्वाचन कताबाट सन्चालन भएको छ भन्ने कुरामा प्रश्न उठाएको समेत बताए ।

यसपटकको स्थानीय तह निर्वाचनको जारी मतगणनामा महराको पार्टी नेकपा माओवादी केन्द्रले २ स्थानीय तहमा जितेको छ भने १०७ स्थानीय तहमा अग्रस्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्