Logo

नेपाल युगान्डासँग पराजित



काठमाडौँ, २ जेष्ठ । महिला टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल अफ्रिकी राष्ट्र युगान्डासँग पराजित भएको छ ।

कीर्तिपुरथित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको हो । युगान्डाले जीतका लागि दिएको १०३ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाएर ९० रनमा समेटियो ।

नेपालका लागि इन्दु वर्माले सर्वाधिक १६ रन जोडिन् भने डोली भट्टले १३, विन्दु रावलले १२ र कविता कुँवरले ११ रन जोडिन् ।

त्यसैगरी कप्तान रुबिना क्षेत्री ९ रनमा आउट भइन् भने ज्योति पाण्डेले ६, रोमा थापाले ५, कविता जोशीले ४ तथा अप्सरी बेगमले १ रन जोडिन् । बलिङमा युगान्डाकी कोन्सी अवेको र सारा एकिटेङले समान दुई-दुई विकेट लिए भने जनेट एमबाबाजीले १ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रनको योगफल बनायो । युगान्डाका लागि जनेट एमबाबाजीले सर्वाधिक २९ रनको योगदान दिइन् ।

त्यसैगरी केभिन अविनोले १५ रन बनाइन् भने फ्रान्कलिन नाजुम्बाले १२, रीता एनयागेन्गोले १८ तथा रीता मुसामालीले १३ जोडिन् ।

बलिङमा नेपालकी कविता कुँवरले २ विकेट लिइन् भने कप्तान रुबिना क्षेत्री, कविता जोशी र इन्दु बर्माले समान एक-एक विकेट लिए । यस जीतसँगै युगान्डाले पाँच खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्