Logo

नेपाल र भारतले संयुक्तरूपमा बौद्ध परिपथ विकास गर्ने: प्रधानमन्त्री



लुम्बिनी, २ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै सांस्कृतिक एर्व पर्यटनका क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि गर्न बौद्ध परिपथ विकास गरिने घोषणा गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा आज यहाँ आयोजित २५६६औँ बुद्धजयन्तीको विशेष समारोहमा उनले भगवान् बुद्धको जीवनसँग सम्बन्धित महत्वपूर्ण स्थानहरूलाई एकापसमा जोड्ने बौद्ध परिपथ विकास गर्न नेपाल र भारत प्रतिबद्ध रहेका बताएका हुन् ।

प्रधानमन्त्री देउवाले नेपालको लुम्बिनीलाई भारतको बौद्धगया, सारनाथ, कुसिनगर एकापसमा जोड्न त्यस्तो परिपथले नेपाल र भारतबीच सांस्कृतिक पर्यटनको प्रवद्र्धनका क्षेत्रमा सकारात्मक योगदान पु¥याउने बताए ।

प्रधानमन्त्रीले भने, “विश्वभरका बौद्ध धर्मावलम्बीहरूलाई नेपाल र भारतमा रहेको भगवान् बुद्धको जीवनसँग जोडिएका महत्वपूर्ण स्थानहरूको भ्रमण उत्प्रेरित गर्नेछ ।” हालै निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएसँगै लुम्बिनीमा भारत एवं सम्पूर्ण विश्वबाट अझ ठूलो सङ्ख्यामा पर्यटक तथा तीर्थयात्रीलाई स्वागत गर्न नेपाल उत्सुक रहेको बताए ।

नेपाल र भारत समाज सांस्कृतिक एवं आध्यात्मिक मूल्य मान्यताले जोडिएका बताउँदै उनले केही समयअघि सम्पन्न वाराणसीको आफ्नो भ्रमण स्मरण गर्दै काशीविश्वनाथ बाबाको पूजाअर्चना गर्ने अवसरमा प्रधानमन्त्री मोदीले जुटाइदिनुभएकामा उहाँप्रति र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथप्रति कृतज्ञता व्यक्त गरे ।

भारत नेपालको बहुआयामिक सम्बन्ध भएको घनिष्ट छिमेकी मित्र हो । कोभिड–१९ महामारी जनजीवन कष्टकर बनाएको अत्यन्त कठिन समयमा र अन्य विषम परिस्थितिमा भारत सरकारले उदारता र आत्मीयताका साथ गरेको सहयोगको सराहना गर्दै प्रधानमन्त्री देउवाले नेपालको आर्थिक विकासमा निरन्तर सहयोगका लागि भारतप्रति आभार प्रकट गरे ।

नेपालको पूर्वाधार निर्माण, सम्पर्क सञ्जाल विस्तार, जलविद्युत् कृषि तथा मानव संसाधनको विकासका साथै भूकम्पपछिको नवनिर्माण एवं सांस्कृतिक सम्पदाका पुनः स्थापना र पुनः निर्माणका लागि भारत सरकारले गरेको सहयोगका निम्ति पनि आभार प्रकट गरे ।

यसै वर्ष नेपाल र भारतको कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्सव मनाइरहेका बेला आपसी समझदारी तथा पारस्परिक सम्मानका आधारमा दुई मुलुकबीचको सम्बन्धलाई अझ सदृढ बनाउँदै थप उचाइमा पु¥याउन चाहेको प्रधानमन्त्रीले उल्लेख गरे ।

भगवान् बुद्धको जन्मभूमि लुम्बिनी बुद्धका ज्ञानरुपी, अनन्त ज्योतिलाई सदैव प्रज्वलित राख्न प्रतिबद्ध रहेको बताउँदै उनले लुम्बिनीलाई समग्र विश्वकै एक महत्वपूर्ण सम्पदाका रुपमा एवं विश्व शान्तिका लागि प्रेरक केन्द्रका रुपमा विकास गर्ने लक्ष्य रहेको बताए । उनले भने, “लुम्बिनीलाई बुद्ध धर्म तथा दर्शनको विश्वव्यापी केन्द्रका रुपमा विकास गर्ने हाम्रो प्रतिबद्धता हो । यस पवित्र उद्देश्य हासिल गर्न सबैको सहकार्य र ऐक्यबद्धताको कदर गर्दछौँ ।”

वर्तमान विश्वका विभिन्न ठाउँमा मानव जातिले हिंसा, वैमनस्य र युद्धको सामना गरिरहनु परेको, आतङ्कवाद, शस्त्रअस्त्रको होडबाजी र द्वन्द्वका कारण विश्वव्यापी शान्तितर्फको यात्रा दिनप्रतिदिन कठिन र चुनौतीपूर्ण बन्दै गएको परिप्रेक्ष्यमा भगवान् बुद्धका उपदेशहरू अझ सान्दर्भिक र मननीय छ भने ।

पारस्परिक सम्मान, करुणा, अहिंसा र सद्भावयुक्त, शान्तिपूर्ण विश्वका लागि भगवान् बुद्धका सन्देशहरू अत्यन्त उपयोगी रहेको पनि प्रधानमन्त्री देउवाले उल्लेख गरे । कार्यक्रममा प्रधानमन्त्री धर्मपत्ती डा आरजु राणा देउवा, मन्त्री परिषद्का सदस्यहरू, लुम्बिनी प्रदेशका मुख्यमन्त्री, प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिका सदस्य, लुम्बिनी विकास कोषका उपाध्यक्ष र पदाधिकारीसहित, बौद्धमार्गी र सर्वसाधारणको ठूलो सङ्ख्यामा उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्