Logo

लुक्ला विमानस्थलबाट फर्किने विदेशी पर्यटकको सङ्ख्या बढ्याे



सोलुखुम्बु, ९ जेष्ठ । सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाबाट फर्किने यात्रुको चाप बढेको छ ।

खुम्बुमा पर्यटकीय सिजन सकिएसँगै विमानमार्फत काठमाडौँ फर्किने विदेशी पर्यटकको चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । अहिले लुक्ला भित्रिने यात्रुको सङ्ख्या न्यून रहेको र दैनिक ३ सयभन्दा बढी पर्यटकहरु त्यहाँबाट फर्किने गरेका प्राधिकरण प्रमुख द्वारीका अछामीले जानकारी दिए ।

चाप बढेसँगै विमान कम्पनीहरुलाई भ्याइनभ्याइ भएको छ । देशकै बढी व्यस्त हुने विमानस्थल मध्येको एक लुक्लामा अहिले दैनिक ३० वटाभन्दा बढी उडान हुने गरेको छ भने त्यतिकै सङ्ख्यामा हेलिकप्टरहरुले उडान भर्ने गरका छन् ।

काठमाडौँबाट लुक्ला आउने प्रायजसो जहाजहरु खाली नै हुने गरे पनि फर्किँदा पूरा यात्रु लिएर जाने गरेको विमान कम्पनीहरुले जनाएका छन् । फर्किने पर्यटकहरुको चाप बढी भए पनि मौसमले साथ नदिँदा कतिपय उडानहरु रद्द हुने गरेको छ ।

केही दिनदेखि बिहानको समयमा मौसम धुम्मिने र मध्यान्नपछि मात्रै खुल्ने गरेकाले सोचेजस्तो उडान हुन नसकेको प्रमुख अछामीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्