Logo

सेवाको भावना भए मात्रै विकास सम्भव हुन्छ: पौडेल



तनहुँ, ११ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सेवाको भावना भए मात्रै विकास सम्भव रहेको बताएका छन् ।

तनहुँको व्यास नगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिका लागि आज आयोजना गरेको बधाई एवं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनप्रतिनिधि शासक नभई सेवक बन्नुपर्ने उल्लेख गरेका छन् ।

जनताले सेवक बन्नका लागि निर्वाचनमार्फत मत दिएकाले जनताको सेवक बनेर काम गर्न वरिष्ठ नेता पौडेलले आग्रह गरे । “जनप्रतिनिधिले हामीहरू जनताको शासक होइन, सेवक हौँ भन्ने भावना जागृत गर्नुपर्छ, त्यसो भएको खण्डमा मात्रै विकास गर्न सकिन्छ,” उनले भने ।

वरिष्ठ नेता पौडेलले व्यास नगरपालिकालाई सौन्दर्य भर्ने काममा अग्रसर हुन जनप्रतिनिधिलाई आग्रह गरेका छन् । जनप्रतिनिधिको काँधमा ठूलो जिम्मेवारी भएकाले उक्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्नुपर्ने उनले जोड दिए ।

“समाज विकासका लागि आफैँ अग्रसर हुनुपर्छ, त्यसको जिम्मेवारी जनताले दिएका छन्,” पौडेलले भने, “समाजका लागि केही गर्नुपर्छ भन्ने सङ्कल्प बोक्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्