Logo

बिर्तामोडका दशै वडालाई १ करोड १५ लाख दिने



झापा, ११ जेठ । बिर्तामोड नगरपालिका अन्तर्गतका १० वटै वडाहरुलाई आर्थिक वर्ष २०७९/०८०का लागि १ करोड १५ लाख रुपैयाँको पुँजीगत बजेट सिलिङ दिइने भएको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बुधबार बसेको कार्यपालिकाको पहिलो बैठकले वडाहरुबाट नीति तथा कार्यक्रम तय गरी २०७९ जेठ मसान्तसम्ममा नगरमा पेश गर्ने गरी उक्त निर्णय भएको हो ।

यस्तै बैठकले नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा रहेको योजना अनुगमन समितिमा कार्यपालिकाको तर्फबाट वडानम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी र वडानम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्गवालाई सदस्यको जिम्मेवारी प्रदान गरेको छ । बैठकले नगरप्रमुख प्रसाईले पदभार ग्रहणका क्रममा गरेको दुई वटा निर्णयलाई पनि अनुमोदन गरेको छ ।

बिर्तामोड नगरभित्र रहेका सम्पुर्ण गरिब तथा असहाय परिवारहरुको मापदण्ड तयार गरि नि:शुल्क स्वास्थ्य बीमा गरी बिपन्नहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र नगरक्षेत्रभित्र रहेका सम्पुर्ण खेतीयोग्य जमिनहरुमा स्यालोट्युवेल, कुलो तथा पैनीहरुको निर्माण गरि ५ वर्षभित्रमा खेतीयोग्य जमिनमा सिँचाईको व्यवस्था गर्ने निर्णयलाई अनुमोदन गर्दै नीति तथा कार्यक्रम बनाएर आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्ने निर्णय भएको हो ।

त्यसैगरी बैठकले बिर्तामोड नगरपालिकामा रहेका सवारीसाधनहरु ग्रेडर, रोलर, जेसिभी, ट्रिपर र पानी ट्याङ्करको नयाँ भाडादर पनि कायम गरेको छ । बैठकमा चालु आर्थिक वर्ष २०७८/०७९ को कुल वार्षिक वजेट १ अर्व ४० करोड ४७ लाख ४२ हजार बजेट प्रस्ताव गरिएकोमा बैशाख मसान्तसम्मको आयतर्फ ७९ करोड ३४ लाख ३५ हजार तथा व्यय मध्ये चालु तर्फ ३३ करोड ४० लाख ८५ हजार र पुँजीगत तर्फ ३२ करोड ९८ लाख ३९ हजार गरी जम्मा ६६ करोड ३९ लाख २५ व्यय भएको आयव्यय विवरण समेत प्रस्तुत गरीएको थियो ।

यस्तै आजको बैठकले २०७४ सालको स्थानीय निर्वाचनबाट बिर्तामोड नगरपालिकामा निर्वाचित भएर २०७९ साल जेठ ५ गतेसम्म कार्य गर्ने जनप्रतिनिधिहरुलाई विकास र समृद्विमा पुर्याएको योगदानका लागि धन्यवाद व्यक्त गरेको छ । यस्तै स्थानीय तह निर्वाचन २०७९ को मतगणना अवधिको लागि कर्मचारीहरुलाई दिएको विदा र दुर्गा माध्यमिक विद्यालय बिर्तामोड-९ गरामनिका शिक्षक दुर्गाप्रसाद निरौलाको गत चैत्र २० गते सडक दुर्घटनामा परि निधन भएकोले २१ गते बिर्तामोड नगरपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयहरुमा शोक विदा दिने निर्णयलाई पनि बैठकले अनुमोदन गरेको छ ।

उक्त बैठकमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने, वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना, लेखाशाखा प्रमुख तेजेन्द्र तामाङ लगायत १० वटै वडाका वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्