Logo

शैक्षिक सत्र सुरु भएको तीन हप्ता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पुगेन पुस्तक



काठमाडौँ, १७ जेठ । यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन हप्ता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवम् वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर किताब अभाव भएको हो ।

सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ । विगतमा पनि केन्द्रले समयमै पुस्तक छाप्न नसकेको भन्दै केही वर्षअघि नै सरकारले निजी क्षेत्रलाई पुस्तक छपाइको जिम्मा दिएको थियो ।

जनक शिक्षाले अझै ३३ लाख थान पुस्तक छाप्नै बाँकी रहेको छ । चालु शैक्षिक सत्रका लागि आवश्यक एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्नेमा अहिलेसम्म एक करोड ६५ लाख थान मात्रै पुस्तक छापिएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए ।

जनक शिक्षाले विद्यालय तहको ८५ प्रतिशत पुस्तक छपाइ सम्पन्न गरेको र १५ प्रतिशत छपाइ भइरहेको जनाएको छ । ‘यस वर्षको शैक्षिक सत्रलाई जनक शिक्षाले एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्ने हो, अहिलेसम्म एक करोड ६५ लाख थान पुस्तक छपाइ सम्पन्न भएर वितरण गरिसक्यौँ, बाँकी पुस्तक असार पहिलो हप्तासम्म छपाइ सक्छौँ र अबको एक महिनाभित्र नै विद्यार्थीको हातहातमा पुस्तक पुग्छन्’, झाले भने ।

केन्द्र बिक्रेतामार्फत ७७ वटै जिल्लामा पुस्तक वितरण सुरु गरिसकेको जनाउँदै उनले काठमाडौँ उपत्यकाभन्दा बाहिर हिमाली तथा पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक वितरण गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्