Logo

सुस्मिता लेख्छिन्- ‘बिहे भएकाे छैन, रिङ लाएकाे छैन, म यसमै खुसी छु’



भारत, ३२ असार । इन्डियन प्रिमियर लिग (आइपिएल)का संस्थापक तथा पूर्व-अध्यक्ष ललित मोदीले पूर्व मिस युनिभर्स तथा अभिनेत्री सुस्मिता सेनसँगको फोटो सार्वजनिक गरेपछि विभिन्न अड्कलबाजी भइरहेको छ । दुई दिनअघि मोदीले आफ्नो ट्विटरमा सेनसँगको फोटो राख्दै आफूहरूले डेट गरिरहेको कुरा उल्लेख गरेपछि यो विषयले चर्चा पाएको हो ।

मोदीले सेनलाई आफ्नो पार्टनर बताउँदै जिन्दगीको नयाँ सुरुवात भएको उल्लेख गरेका थिए । सेनसँगका नयाँ तथा पुराना गरी १० वटा फोटो इन्स्टाग्राम तथा ट्विटरमा अपलोड गर्दै अहिले आफूहरू डेट गरिरहेको र छिट्टै विवाह पनि गर्ने घोषणा गरेपछि सेनलाई पनि विवाह कहिले गर्ने भन्ने प्रश्नको ओइरो लागेको थियो ।

गुपचुप विवाह पनि भइसक्यो, इंगेजमेन्ट भइसक्यो भन्ने हल्ला पनि चलिरहेका बेला सेनले शुक्रबार सामाजिक सञ्जालमार्फत नै आफ्नो प्रतिक्रिया दिएकी छन् । आफ्नो इन्स्टाग्राममा दुई छोरीसँगको फोटो राख्दै विवाह नभएको, रिङ पनि नलगाएको प्रेमले घेरिएको र आफू खुसी रहेको कुरा उल्लेख गरेकी छन् ।

मोदीले सेनसँग भेट हुँदादेखिका दशक पुराना फोटोदेखि नयाँ फोटोसम्म राखेर आफूहरू पार्टनर रहेको कुरा घोषणा गर्दा सेनले भने मोदीको नामसमेत उल्लेख गरेकी छैनन् । यसले उनीहरूको सम्बन्ध मोदीले उल्लेख गरे जस्तो सरल छ भन्ने कुरामा प्रश्न उठाउने ठाउँ बनेको छ ।

सन् १९९४ मा मिस युनिभर्सको उपाधि जितेकी ४६ वर्षीया सेन अविवाहित आमा हुन् । उनका दुई छोरी छन् । जसलाई उनले एडप्ट गरेकी हुन् । उनको प्रेम सम्बन्धको भने बेला बेलामा चर्चा भइरहने गर्छ ।

प्रतिक्रिया दिनुहोस्