Logo

विश्व कप क्रिकेट लिग-२: नेपाल नामिबियासँग पराजित



स्कटल्यान्ड, १ साउन । आईसीसी विश्व कप क्रिकेट लिग-२ मा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ ।

त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपाल नामिबियासँग पराजित भएसँगै छैटौँ स्थानमा झरेको छ । स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली नामिबियासँग लगातार दोस्रो खेलमा हारेको हो । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो ।

शनिबारको खेलमा जितका लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३७ ओभर ५ बलमा १ सय ३६ रनमा अलआउट भयो । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन जोडे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबिया ४९ ओभर २ बलमा १ सय ९९ रनमा अल आउट भएको थियो ।

नामिबियाका कप्तान जेहार्ड एरास्मसले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले । नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । त्यस्तै सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २-२ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्