Logo

ज्वाला राईको ‘माया जाल’ म्युजिक भिडियो सार्वजनिक



काठमाडौँ, ९ साउन । ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को चौथो वरियाताका प्रतिस्पर्धी गायक ज्वाला राईको नयाँ साङ्गीतिक सौगात ‘माया जाल’ सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको यस गीतमा मिलन किराँतीको शब्द रहेको छ भने विक्रम राईको सङ्गीत रहेको छ । देवेश राईले यस गीतलाई सङ्गीत संयोजन गरेका छन् । लुटपाटको घटनालाई आधार बनाएर तयार पारिएको म्युजिक भिडियोको कथामा गायक राई खलनायक चरित्रका रूपमा प्रस्तुत गरिएको छ ।

‘माया त गर्छु भन्छ्यौ, खै कस्तो छ तिम्रो चाल पो’, ‘हेर्दा त परी जस्ती छ्यौ, थाहा छैन मनकी कस्ती छ्यौ’, ‘भेटेको धेरै भाको छैन, पिरती हामीले लाको छैन’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

भिडियोमा मानुषी तामाङ र गायक राईबीच प्रेम र रोमान्सको अभिनयसमेत प्रस्तुत गरिएको छ । भिडियोमा फराज अर्पणको डीओपी र विशाल थापाको छायाङ्कन रहेको छ । गायक राईको कन्सेप्ट, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक राईको युट्युब च्यानल ‘ज्वाला राई’मार्फत सार्वजनिक भएको हो । यसअघि गायक राईको स्वरमा ‘शीतल शीतल’, ‘दौरा भन्दा खल्ती लामो’, ‘तिमी फूल’ लगायत म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्