Logo

पल शाहको मुद्दामा असोज २ गते सुनुवाइ हुने



काठमाडौँ, २२ भदौ । बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने भएको छ । यसअघि यही भदौ १५ गतेका लागि तोकिएको पेशी स्थगित भएको थियो ।

तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले असोज २ गतेका लागि पेशी तोकिएको जानकारी दिए ।

नायक शाहविरुद्ध नवलपुर अदालतले मङ्गलबार साढे दुई वर्ष कैद फैसला सुनाएको छ । नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले नायक शाहलाई बालयौन दुरुपयोगमा दुई वर्ष छ महिना कैद फैसला सुनाएको हो । साथै रु २५ हजार जरिवाना र रु दश लाख क्षतिपूर्तिको फैसला भएको नवलपुर अदालतका श्रेस्तेदार महेन्द्रराज पौडेलले बताए ।

जबर्जस्ती करणी मुद्दामा अभियोगपत्र दर्ता भए पनि न्यायाधीशले बालयौन दुरुपयोगको कसुरमा शाहलाई कैदको फैसला सुनाएको अदाललते जनाएको छ । शाहविरुद्ध नवलपुर अदालतमा गत चैत ३ गते जबर्जस्ती करणी मुद्दा दर्ता भएको थियो ।

नाबालिकमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्