Logo

को को कलाकार छन् चुनावी प्रतिस्पर्धामा ?



काठमाडौँ, २७ कात्तिक । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कलाकार पनि चुनावी मैदानमा छन् ।

कला क्षेत्रबाट चुनावी मैदानमा होमिने कलाकारको सङ्ख्या यसपटक उच्च छ । राष्ट्रियसभा सदस्य रहिसकेकी गायिका कोमल ओली नेकपा (एमाले)बाट दाङको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । उनी प्रत्यक्ष निर्वाचित भएर जनताको सेवा गर्ने भन्दै घरदैलोमा पुगेर मत मागिरहेकी छन् ।

अभिनेत्री रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवारी दिएकी उनी घरदैलोमा पुग्दै आफ्नो गृह जिल्लामा मत मागिरहेकी छन् । केही वर्षयता अभिनेत्री थापा कलाकारिताभन्दा पनि राजनीतिमा सक्रिय छन् । “यो मेरो गृह जिल्ला हो । मैले यहाँको भूभाग बुझेकी छु । यहाँको सेवा गर्दै राजनीति सुरु गरेकी हुँ”, उनले बताइन् ।

फिल्म निर्देशक तथा समीक्षक मनोज पण्डित प्रतिनिधिसभा सदस्यका लागि काभ्रे–२ बाट स्वतन्त्र उम्मेदवार छन् । दासढुङ्गा, बधशाला, ग्रेटर नेपाल जस्ता फिल्म र डकुमेन्ट्री निर्देशन गरिसकेका पण्डितले विगत छ महिनादेखि नै तयारी गरिरहेका छन् । “अहिले जनताले स्वतन्त्रलाई पनि विश्वास गर्न थाल्नुभएको छ । यसैले उम्मेदवारी दिएको हुँ । किनकि मैले स्थानीय विकास गर्न कसैको निर्णय पर्खिनु पर्दैन, स्वतन्त्र छु”, उनले भने ।

प्रतिनिधिसभा सदस्यमै गायक सञ्जय श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन् । काठमाडौं क्षेत्र नं ६ बाट उम्मेदवारी दिएका उनले समाज परिवर्तनका लागि आफू स्वतन्त्र रुपमै चुनावमा होमिएको बताए ।

निर्माता तथा अभिनेता मधुकुमार श्रेष्ठले नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यमा धादिङको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् । कमेडी च्याम्पियन हिमेश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट धादिङ क्षेत्र नं १ बाट उम्मेदवारी दिएका छन् । फिल्म निर्माता तथा अभिनेता रोज राणाले पनि नेपाली कांग्रेसका तर्फबाट प्यूठानको क्षेत्र नं १ को २ बाट प्रदेशसभातर्फ उम्मेदवारी दिएका छन् । “मलाई पार्टीले विश्वास गरेर अवसर दिएको छ । यसको पूर्ण सदुपयोग गर्नेछु”, उनले भने ।

फिल्म अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश २ तर्फ उम्मेदवार छन् । केही समययता सक्रिय राजनीतिमा रहेका श्रेष्ठले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बाट उम्मेदवारी दिएका हुन् । “मेरो उम्मेदवारी युवालाई राजनीतिमा आउनेतर्फ प्रेरणा दिनु हो । परिवर्तनका लागि अगाडी बढ्नै पर्छ”, उनले भने । श्रेष्ठले सम्झिदिए पुग्छ, दुई दुना पाँच, ह्याप्पी न्यू इयर, पल्टन, जङ्गली फूल, को कसको, द मस्ट वान्टेड, बोर्डर र जन्जिर जस्ता फिल्ममा अभिनय गरेका छन् ।

चुनावी मैदानमा देखिएका कलाकारको उपस्थितिले कला क्षेत्रलाई टेवा पुग्ने विश्वास हाँस्यकलाकार शिवशङ्कर रिजालको छ । उनले भने, “कलाकारहरूलाई प्रचारप्रसारका लागि मात्र नभइ जनताको सेवा गर्न योग्य ठान्ने दलले अझैँ सङ्ख्या बढाउनु जरुरी छ । यद्दपि सुरुवात राम्रो छ । म लगायत धेरै साथीलाई यसले चुनावी मैदानमा आउन हौसला मिलेको छ ।”

प्रतिक्रिया दिनुहोस्