Logo

नेपाल टी-२० लिग: जनकपुरकाे लगातार दाेस्राे जित



काठमाडौँ, ११ पुस । नेपाल प्रिमियर लिग टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत सोमवारको दोस्रो खेलमा जनकपुर रोयल्सले विराटनगर सुपर किङ्ग्सलाई पाँच विकेटले हराएको छ ।

विराटनगरले दिएको एक सय ४१ रनको लक्ष्य जनकपुरले अन्तिम बलमा पाँच विकेट गुमाएर भेटायो । जनकपुरका लागि चाडविक वाल्टनले नटआउट ६९ रन बनाएका थिए ।

यस्तै ट्रेभन ग्रिफितले २५ र शराफउद्दिन असरफले २३ रन बनाए । बलिङतर्फ विराटनगरका हुसैन तलत, नन्दन यादव र रिजन ढकालले एक-एक विकेट लिएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको विराटनगर १९ ओभरमा ५ बलमा एक सय ४० रन बनाउँदा अलआउट भयो । विराटनगरका लागि सिकन्दर राजाले सर्वाधिक ३८ र रोहित पौडेलले ३२ रन बनाए । बलिङतर्फ जनकपुरका ललित राजवंशीले पाँच तथा मोहम्मद आदिल आलम र केसरिक विलियम्सले दुई-दुई विकेट लिएका थिए ।

ललित नेपाल टी-२० लिगमा पाँच विकेट लिने पहिलो बलर बनेका छन् । लगातार दोस्रो जितसँगै जनकपुर तालिकाको दोस्रो स्थानमा पुगेको छ । दुवै खेल हारेको विराटनगर पुछारबाट दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्