Logo

भद्रपुर झापा गोल्डकप: एपिएफ सेमिफाइनलमा प्रवेश



झापा, १२ फागुन । विभागीय टोली एपिएफ फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको खेलमा पाहुना टोली काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशलाई सडनडेथमा पराजित गर्दै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो ।

निर्धारित ९० मिनेटको समयमा १-१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि निर्णय हुन नसकेपछि सडनडेथबाट निर्णय लिइएको थियो ।

सडनडेथमा एपिएफले बंगलादेशी टोलीलाई ९-८ ले पराजित गरेको थियो । सडनडेथमा काउवार्नका औङ गोल गर्न चुकेपछि पराजय व्यहोर्नुप¥यो । उनको प्रहारलाई एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले बचाएका थिए । जितसँगै एपिएफले फाइनल प्रवेशका लागि मछिन्द्र क्लबसँग आइतबार खेल्नेछ ।

खेलमा सुरुवाती अग्रता भने काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशले लिएको थियो । खेलको २१ औँ मिनेटमा बंगलादेशका साएरले गोल गरे । उनले पेनाल्टी एरियाबाट गरेको प्रहारले जाली चुमाएको थियो ।

दोस्रो हाफपछि एपिएफ आक्रमक बन्यो । ७२ औँ मिनेटमा युवराज खड्काले गोल गर्दै खेललाई बराबरीमा फर्काए । काउवार्नका गोल किपर कोबिजबाट रिवाउन्स भएको बललाई उनले गोलमा परिणत गरेका हुन् ।

शुक्रबारको खेलको प्लेयर अफ द म्याच एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । शनिबारको पहिलो सेमिफाइनल खेल संकटा क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्