Logo

मछिन्द्र फुटबल क्लब भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश



भद्रपुर, १४ फागुन । मछिन्द्र फुटबल क्लब झापामा जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

अब मछिन्द्रले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग मंगलबार भिड्ने छ ।

भद्रपुरस्थित मेची रंगशालामा आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र उपाधि नजिक पुगेको हो ।

मछिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले गोल गरे । श्रेष्ठको गोल नै निर्णायक बन्यो । खेलको १७ औँ मिनेटमा डिबक्सभित्र आन्दे्रस नियाको चलाखीपूर्ण पासलाई सदुपयोग गर्दै श्रेष्ठले जाली चुमाएका थिए ।

दर्शकले भरिभराउ रंगशालामा गत वर्षको लिग च्याम्पियन मछिन्द्रले गोल गरेपछि एपिएफ दबाबमा परेको थियो । पहिलो हाफमा मछिन्द्र एपिएफमाथि हाबी देखियो । आइतबारको खेलको प्लेयर अफ द म्याच मछिन्द्रका सुजल श्रेष्ठ घोषित भए । उनले नगद २० हजार पुरस्कार पाएका हुन् ।

फागुन ७ गतेदेखि सुरु भएको गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्