Logo

बूढासुब्बा गोल्डकपमा केएफटिसी फाइनलमा प्रवेश



धरान, १८ फागुन । धरानमा जारी बूढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको २३औँ संस्करणमा भारतको युनाइटेड कर्साङ फुटबल क्लब (युकेएफसी)लाई पराजित गर्दै काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) फाइनलमा प्रवेश गरेको छ ।

धरान–१६ स्थित रङ्गशालामा मंगलवार भएको खेलमा युकेएफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै केएफटिसी फाइनलमा प्रवेश गरेको हो । केएफटिसीका लागि विदेशी खेलाडी यमी, सुशील राई र निशान लिम्बूले गोल योगदान गरे । खेलको २२औँ मिनेटमा केएफटिसीले खेलमा अग्रता लिएको थियो । यमीले विपक्षी दुई डिफेन्स र गोल किपरलाई समेत बिट गर्दै उत्कृष्ट गोल गरे । बदलामा युकेएफसीका हेमराज भुजेलले गोल गर्दै खेल बराबरीमा पु¥याए । भुजेलले प्रतिक लामाको पासमा सानदार हेड गोल गरेका थिए ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा केएफटिसीले थप दुई गोल गरी टिमलाई विजय सुनिश्चित गरेको थियो । दोस्रो हाफको ४७आँै मिनेटमा यमीको क्रसमा गिल्सन लिम्बूले मिलाइदिएको पासलाई केएफटिसीका सुशील राईले गोल गरे । खेलको इन्जुरी समयमा सुशील राईलाई विपक्षी डिफेन्सले फल गरेपछि पाएको पेनाल्टीमा निशान लिम्बूले अर्को गोल गरे ।

खेलको म्यान अफ द म्याच भने केएफटिसीका यमी घोषित भई नगद रु १० हजार पुरस्कार पाएका छन् । सोचेजस्तो खेल खेल्न नसक्दा आफ्नो टिम पराजित भएको युकेएफसीका प्रशिक्षक उर्गेन लामाले बताए । आफूले बनाएको रणनीतिअनुसार खेलाडीले खेल्दा नतिजा निस्किएको केएफटिसीका प्रशिक्षक मुन्ना सुब्बाले प्रतिक्रिया दिए । बिहीबार विदेशी टिम एभिनियर क्यामरुन र एन्फा मोरङबीच सेमी फाइनलको खेल हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्