Logo

विश्वकप लिग-२: आसिफ र सन्दीपको कीर्तिमानी साझेदारीमा नेपाल विजयी



यूएई, १९ फागुन । विकटकिपर आसिफ शेख र स्पिनर सन्दीप लामिछानेको कीर्तिमानी साझेदारीमा नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीमाथि तीन विकेटको जित हात पारेको छ ।

पपुवा न्युगिनीले दिएको १ सय ८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विके गुमाएर भेटायो । नेपालका लागि आसिफ शेखले ८६ र सन्दीप लामिछानेले ३५ रन बनाए । नेपालले १ सय ५ रनमा ७ विकेट गुमाएको अवस्थामा आसिफ र सन्दीपले रनको साझेदारी गर्दै टोलीलाई जिताएका हुन् ।

यसअघि ओपनर कुशल भुर्तेल पहिलो बलमै खाता नै नखोलिकन आउट भए । यस्तै ज्ञानेन्द्र मल्ल ६ रन बनाएर आउट हुँदा भीम सार्की ८ रनमा पेभेलियन फर्किए । यस्तै रोहित पौडेल र आरिफ शेख १-१ रनमा आउट भएका हुन् ।

बलिङतर्फ पीएनजीका आसाद भालाले ३ तथा सेमो कमेया र सेसे बाउले २-२ विकेट लिए ।यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पीएनजी ४९ ओभर २ बलमा १ सय ७९ रनमा अलआउट भयो ।

पीएनजीका लागि टोनी उराले सर्वाधिक ३९ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए । यस्तै सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले १-१ विकेट लिएका थिए ।

यस शृङ्खलाको पहिलो खेलमा नेपालले पीएनजीलाई हराएको थियो । हिजो बिहीवारको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो । यो शृङ्खलामा नेपाल, यूएई र पीएनजी रहेका छन् । नेपालले अर्को खेल सोमवार यूएईसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्