Logo

नारी दिवसको अवसरमा महिला फुटबल प्रतियोगिता



ताप्लेजुङ, २५ फागुन । ताप्लेजुङमा बुधबार सम्पन्न उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिताको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले हात पारेको छ ।

फाइनल खेलमा फुङ्लिङ नगरपालिकालाई २–१ को गोल अन्तरले पराजित गर्दै आठराई त्रिवेणीले उपाधि हात पारेको हो । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फुङ्लिङ नगरपालिकाले आयोजना गरेको प्रतियोगिता यही फागुन २१ गतेदेखि सुरु भएको थियो ।

विजेता भएसँगै आठराई त्रिवेणी गाउँपालिकाले नगद रु एक लाख ११ हजारसहित तीन वर्षे रनिङ कप र प्रमाणपत्र प्राप्त गरेको छ । रनिङ कप एक सय तोला चाँदी र आधा तोला सुन जडित रहेको आयोजकले जनाएको छ ।

यता उपविजेता बनेको फुङ्लिङ नगरपालिकाले भने रु ५५ हजार पाँच सय नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । यस्तै प्रतियोगिताको तृतीय स्थानमा रहेका सिरिजङ्घा र मेरिङ्देन गाउँपालिकाको टिमलाई नगद रु नौ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

विजेता टिमलाई जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा लगायतले संयुक्तरूपमा पुरस्कार वितरण गरे । विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई समेत नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा जिल्लाको मैवाखोला गाउँपालिकाबाहेकका सबै स्थानीय तहबाट खेलाडी सहभागी भएका थिए । खेल क्षेत्रमा महिलाको उपस्थिति वृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको फुङ्लिङ नगरपालिका उपप्रमुख भीमादेवी ओझाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्