Logo

इन्डो-नेपाल भेट्रान्स फुटबल: उपाधि बिर्तामोड युनाइटेडलाई



मेचीनगर, ७ चैत । तेस्रो संस्करणको इन्डो-नेपाल भेट्रान्स फुटबल टुर्नामेन्टको उपाधि बिर्तामोड युनाइटेड भेट्रान्स फुटबल क्लबले उचालेको छ ।

काँकरभिट्टा माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा पाहुना टोली फ्रिडम फाइटर युथ क्लब काठमाडौँलाई २-० गोल अन्तरले हराउँदै बिर्तामोडले उपाधि रक्षा गरेको हो ।

उपाधिसँगै बिर्तामोडले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेतामा सीमित फ्रिडम फाइटर युथ क्लबले नगद १ लाखमा चित्त बुझायो ।

फाइनल खेलको भेट्रान्स प्लेयर अफ द म्याच बिर्तामोडका बाबुलाल हास्दा भए । उनले नगद ३ हजारसहित ट्रफी प्राप्त गरे । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी फ्रिडम फाइटर युथ क्लब काठमाडौँका राजकुमार घिसिङ भए । उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा उपविजेता फ्रिडम फाइटर काठमाडौँका श्यामबहादुर गुरुङ घोषित भएका थिए ।

सर्वाधिक गोलकर्ता ह्याट्रिक गरेका काँकरभिट्टा भेट्रान फुटबल क्लबका सुजन शाक्य भए । उनीहरुले समान ५ हजार रुपैयाँ र ट्रफी पाए । प्रतियोगिताका ज्येष्ठ भेट्रान खेलाडी डाउन टाउन दार्जिलिङका राजन गोले तामाङलाई समेत सम्मान गरिएको थियो ।

वर्षाका बाबजुद भएको खेलमा उपाधि दिलाउन बिर्तामोडका सन्तोष राई र रमेश गुरुङले समान एक-एक गोल गरे । पहिलो हाफमा बराबरीमा टुंगिएको खेलमा दोस्रो हाफमा गोलको अवसर सिर्जना भएको थियो । खेलको ५७ औँ मिनेटमा बिर्तामोडका राईले देब्रे बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । गोलसँगै बिर्तामोडले १-० को अग्रता लिएको थियो ।

त्यस्तै, खेलको ६१ औँ मिनेटमा वान भर्सेस वानमा रहेका बिर्तामोडका कप्तान गुरुङलाई डिबक्सभित्र काठमाडौँका खेलाडीले लडाएपछि बिर्तामोडले पेनाल्टी पायो । पेनाल्टीलाई गुरुङले गोलको दिशा दिएका थिए ।

प्रतियोगिताको विजेता तथा उपविजेतालाई कोसी प्रदेशसभा सदस्य गोपाल तामाङ, मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, आयोजक काँकरधिट्टा भेट्रान फुटबल क्लबका अध्यक्ष गंगालाल गुरुङ, मुख्य प्रायोजक तथा प्रायोजकहरुले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्