Logo

सार्वजनिक विद्यालयमा सरकारले गरेको लगानीको सदुपयोग हुन सकेन: सभामुख



काठमाडौँ, २१ चैत । सभामुख देवराज घिमिरेले राज्यले गरेको लगानीको प्रतिफल आउने गरी सार्वजनिक विद्यालयको शैक्षिक स्तरमा सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

मङ्गलवार काठमाडौँमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभामुख घिमिरेले शिक्षालाई राज्यले प्राथमिकता दिए पनि लगानीअनुसारको नतिजा आउन नसकेको स्पष्ट पारेका हुन् । सार्वजनिक विद्यालयमा सरकारले गरेको लगानीको सदुपयोग हुन नसकेको उनको भनाइ थियो ।

सभामुख घिमिरेले सरकारले गरेको लगानीको प्रतिफल पाउन किन सकिएको छैन भन्ने कुराको छलफल हुन जरुरी रहेको बताए । उनले निजी विद्यालयमा विद्यार्थीको आकर्षण बढ्नु र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घट्नुको कारण पत्ता लगाई यथोचित सम्बोधन हुन जरुरी रहेको बताएका छन् ।

गुणस्तरीय शिक्षा पाउने भन्दै ऋण गरेर गरिबले पनि निजी विद्यालयमा विद्यार्थी पढ्न पठाउने स्थितिको अन्त्य गर्न जरुरी रहेको घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्