Logo

विद्यार्थीका हातहातमै पाठ्यपुस्तक



काठमाडौँ, ३ वैशाख । नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ । विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै विषयका पाठ्यपुस्तक नपाउने अवस्था केही जिल्लामा हुन्थ्यो ।

यस पटक विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तयारी छ । सरकारले आइतबारदेखि मुलुकभर विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दैछ । भर्ना अभियान वैशाख १५ गतेसम्म सञ्चालन गरिन्छ ।

यस वर्ष कक्षा ५, ८ र १० का नयाँ पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक छापिएका छन् । कक्षा १–५ का पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रले र कक्षा ६–१० का पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले छापेका छन् । केन्द्रले एक करोड ५० लाख थान पाठ्यपुस्तक छापेको छ । निजी मुद्रणले कक्षा १–५ का एक करोड १८ लाख थान पाठ्यपुस्तक छापेका छन् । पाठ्यक्रम विकास केन्द्रका अनुसार १३ वटा निजी मुद्रण संस्थाले कक्षा १ देखि ५ सम्मका पुस्तक छपाइको जिम्मा पाएका छन् ।

केन्द्रका अनुसार शनिबारसम्ममा ५६ वटा जिल्लामा पाठ्यपुस्तक पुगिसकेको छ । बाँकी २१ जिल्ला तराईका छन् । तराईका जिल्लामा पाठ्यपुस्तक पु¥याउन सजिलो हुने भएकाले हिमाली र पहाडी जिल्लालाई पहिलो प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गरिएको हो । केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले बाँकी जिल्लामा पनि केही दिनमै पाठ्यपुस्तक पु(याइसकिने दाबी गर्नुभयो ।

केन्द्रले सानोठिमीस्थित केन्द्रीय कार्यालयका साथै उपत्यकाबाहिरका आठवटा डिपोबाट पाठ्यपुस्तक वितरण गरिरहेको छ । सानोठिमीको डिपोबाट उपत्यकाका तीनसहित दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, धादिङ, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका लागि पाठ्यपुस्तक वितरण गर्ने गरिएको छ । मुलुकभर पाठ्यपुस्तक वितरण गर्न केन्द्रले एक हजार २६७ वटा स्थानीय बिक्रेता तोकेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले करिब पाँच महिनाअघि सबै स्थानीय तहलाई विद्यार्थी सङ्ख्याका आधारमा रकम निकासा गरिसकेको छ ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले भन्नुभयो, “अहिलेसम्मको सरकारी र निजी प्रेसको विवरण हेर्दा विद्यार्थीले भर्ना भएकै दिन पुस्तक पाउने पक्का छ ।” शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले यस पटक विद्यार्थीलाई भर्नाकै समयमा पुस्तक हातमा पार्ने गरी काम अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “अपवादबाहेक आउने शैक्षिक सत्रमा विद्यार्थीले भर्ना हुनेबित्तिकै पुस्तक पाउने छन् । तर पुस्तकको सेट किन्दा एक, दुईवटा अपुग हुनसक्छ । यस्तो अवस्थालाई पुस्तक अभाव भयो भन्न मिल्दैन ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

प्रतिक्रिया दिनुहोस्