Logo

नेपालले ओमानलाई दियो ३ सय ११ रनको लक्ष्य



काठमाडौँ, ८ वैशाख । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानलाई ३ सय ११ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १० रन बनायो ।

नेपालका युवा अलराउन्डर कुशल मल्लले एसीसी प्रिमियर कप क्रिकेटमा ओमानसँगको खेलमा कीर्तिमानी शतक बनाएका छन् । कुशलले ५९ बलमा शतक पूरा गरेका थिए ।

कुशल ६४ बलमा १ सय ८ रनमा आउट भए । उनको यो कुनै पनि अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक हो । आजको खेलमा नेपालको सुरुवात खराब गरेको थियो । नेपालले पहिलो रन २८औँ बलमा जोडेको थियो ।

त्यस्तै नेपालका सोमपाल कामीले ४८ बलमा अविजित ६३ रनको अर्धशतक बनाए । कप्तान रोहित पौडेल २३ रन तथा भीम सार्की ३३ रनमा आउट भएका थिए ।

१० देश सहभागी प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

प्रिमियर कपको समूह ’ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया र समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् ।

प्रतिक्रिया दिनुहोस्