Logo

महानगरले बन्द गरायो भृकुटीमण्डपको शैक्षिक मेला



काठमाडौँ, ३२ जेठ । काठमाडौँको भृकुटीमण्डपमा आज बिहीवारदेखि सुरु भएको शैक्षिक मेला काठमाडौँ महानगरपालिकाले बन्द गराएको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को नतिजा नआउँदै विद्यार्थी भर्नाका लागि तान्ने उद्देश्यले मेला आयोजना गरेको भन्दै महानगरले बन्द गराएको हो ।

माध्यमिक विद्यालय सङ्घ (हिसान) ले आयोजना गरेको मेला बन्द गर्न महानगरको शिक्षा विभागका अधिकारीहरू नगर प्रहरीसहित भृकुटीमण्डपमा पुगेका थिए । प्रहरीले मेलाका केही स्टल हटाइदिएका छन् ।

परीक्षाको नतिजा नै प्रकाशित नभएको अवस्थामा मेलामार्फत विद्यार्थी र अभिभावकलाई झुक्याउने र लोभ्याउने काम भएपछि मेला बन्द गरेको महानगरले जनाएको छ । मेला असारको ३ गतेसम्म चल्ने तालिका थियो । महानगरले मेला बन्द गराएसँगै हिसानको आकस्मिक बैठक बस्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्