Logo

महानगर भित्रका सामुदायिक विद्यालय बन्द गरे कारबाही गर्ने बालेनको चेतावनी



काठमाडौँ, २ असार । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले महानगर भित्रका सामुदायिक विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएका छन् ।

शनिबार सामाजिक संजालमा लेख्दै प्रमुख साहले विद्यालय शान्ति क्षेत्र भएकाले बन्द, हड्ताल र पठनपाठनमा अवरोध गर्न नपाइने बताएका हुन् ।

उनले महानगरका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई पठनपाठन नियमित राख्न पनि निर्देशन दिएका छन् ।

सेवा सुविधा वृद्धिको माग गर्दै आन्दोलनरत विद्यालय कर्मचारीले आफ्ना माग सुनुवाइ नभएको भन्दै आइतबारदेखि देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।

प्रमुख साहले शिक्षक वा कर्मचारी विद्यालयमा अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१ (क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने चेतावनी दिएका छन् ।

विद्यालय व्यवस्थापन समिति विघटनदेखि बल प्रयोग गरी विद्यालय बन्द गर्न खोजे फौजदारी मुद्दा चलाउने चेतावनी पनि प्रमुख साहले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्