Logo

एसईई नतिजा: कति विद्यार्थीले ल्याए कुन जीपीए?



काठमाडौँ, २१ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेका छ ।

बोर्डले आज पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार २२ हजार चार सय जनाले तीन दशमलव ६० देखि चार ‘जीपीए’ ल्याएका छन् ।

यस्तै ५५ हजार ६९ जना विद्यार्थीले तीन दशमलव २० देखि तीन दशमलव ६० जीपीए ल्याएका छन् । ७२ हजार तीन सय जनाले दुई दशमलव ८० देखि तीन दशमलव ६०, ८९ हजार तीन सय जनाले दुई दशमलव ४० देखि दुई दशमलव ८० जीपीए ल्याएका छन् । सबैभन्दा धेरै एक लाख दुई हजार जना विद्यार्थीले दुईदेखि दुई दशमलव ४० जीपीए ल्याएका छन् । एसईईको नतिजा ‘लेटर ग्रेडिङ’ पद्धति २०७२ अनुसार नतिजा प्रकाशित भएको छ । एसईई परीक्षामा सहभागी परीक्षार्थीमध्ये चार सय ३१ जनाको परीक्षा रद्द भएको बोर्डले जनाएको छ ।

एसईईको नतिजा १६ सय नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार जान्न सकिन्छ । त्यस्तै www.see.gov.np मा गएर नतिजा हेर्ने व्यवस्था मिलाइएको छ । गएको चैत १७ गतेदेखि भएको परीक्षामा चार लाख ८५ हजार तीन सय ९६ जना विद्यार्थी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्