Logo

पर्यटन क्षेत्रमा उत्साह थपिएको छ ः शाक्य



काठमाडौँ, २२ असार । कोभिड–१९ महामारीले झण्डै तीन वर्ष खुम्चिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै पुरानैलयमा फर्किएकाले पर्यटन क्षेत्र पुनः जुर्मुराउन थालेको व्यवसायीले बताएका छन् । महामारीपश्चात पर्यटन क्षेत्रमा लगानी बढिरेहको र पछिल्लो पटक विदेशी पर्यटक आगमनको सकारात्मक वृद्धिले पर्यटन क्षेत्रमा उत्साह थपिएको उहाँहरूको बुझाइ छ । पर्यटकीय गतिविधिलाई चलायमान बनाएर यस क्षेत्रबाट मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन सकिने उहाँहरूको विश्वास छ ।

नेपाल एक्स–आर्मी अमेजिङ टप ट्राभल्स एन्ड टुर प्रालिको बिहिवार उद्घाटन गर्दै वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले प्राकृतिक, भौगोलिक, सांस्कृतिक सम्पदायुक्त नेपालको पर्यटनको भविष्य उज्ज्वल रहेको बताए । उनले पदयात्रा र साहसिक पर्यटकीय गतिविधिमा नेपाल विश्वकै अग्रणी रहेको बताए । “यो देशमा पर्यटनको प्रचुर मात्रामा सम्भावना रहेको छ । पर्यटनको जुुनसुकै क्षेत्रमा लगानी गरेर प्रतिफल लिन सकिन्छ”, उनले भने, “सांस्कृतिक सम्पदा, मनकारी, इमान्दारी नेपाली छौँ यो नै हाम्रो आतिथ्य सत्कारको आधार हो ।”

व्यवसायी शाक्यले महामारीपछि पुरानै लयमा फर्किरहेको पर्यटन क्षेत्रमा उत्साह थपिएको उल्लेख गरे । ठूलो लगानी गरेर मात्रै प्रतिफल आउन नसक्ने भन्दै उनले दीर्घकालिन सोचसहित लगानी सुनिश्चित गरेर मात्रै व्यापारमा हात हाल्नुपर्ने सुझाव दिए । ‘फरक र मौलिक’ ढङ्गको व्यापारले मात्रै सफलता हासिल हुने भन्दै व्यवसायी शाक्यले हरेक व्यवसायमा त्यसकिसिमको सोच हुन जरुरी भएको उल्लेख गरे ।

नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले मुलुकको पर्यटन विस्तारै पुरानै लयमा फर्किएको र लगानी चुनौतिकैबिचमा पनि पर्यटन क्षेत्रमा उल्लेख्य लगानी भएकाले आगामी दिन पर्यटनका लागि निकै सुखद् रहने विश्वास व्यक्त गरे । उनले भने,“होटल क्षेत्रमा धेरै लगानी आएको छ, काठमाडौँ उपत्यका र उपत्यकाबाहिर लगानी विस्तार भइरहेको छ । यसले सङ्कटसँगै अवसर पनि आउछ भन्ने कुरालाई पुष्टि गरेको छ ।”

नेपालजस्तो प्राकृतिक, साहसिक सांस्कृतिक र मौलिक संस्कृतिका अथाह सम्भावनाको भरपुर उपयोग गर्नसकेको खण्डमा पर्यटमार्फत मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने उनको भनाइ छ । सामाजिक अभियान्ता कृष्ण कँडेलले आन्तरिक पर्यटनलाई बढाउन सकेको खण्डमा विदेशी पर्यटक पनि उल्लेख्य संख्यामा नेपाल आउने विश्वास व्यक्त गरे ।

कम्पनीका अध्यक्ष कुमारबहादुर खाती (केसी) का अनुसार देशमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले कम्पनी स्थापना गरेको बताए । विदेशबाट नेपाल आउने पर्यटकका लागि होटल बुकिङ, राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानका लागि ‘टिकेटिङ्’को सहज रुपमा व्यवस्थापन गर्ने कम्पनीको योजना छ । नेपालबाट विदेश जाने पर्यटकलाई सम्बन्धित मुलुकमा भ्रमणको सहजताका लागि आवश्यक प्रबन्ध गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्