Logo

अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने



काठमाडौँ, ७ साउन । नेकपा (एमाले) निकट अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने घोषणा गरेको छ ।

अनेरास्ववियुले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अबदेखि कुनै पनि विश्वविद्यालय तथा क्याम्पसमा तालाबन्दीका कुनै पनि कार्यक्रम नगर्ने सङ्गठनका अध्यक्ष समिक बडालले जानकारी दिए ।

“अहिले तालाबन्दीका कारणले विश्वविद्यालय र क्याम्पस अस्तव्यस्त भएका छन्”, उनले भने, “अबदेखि अखिलले कुनै पनि शैक्षिक संस्थामा तालाबन्दी गर्दैन, तल्लो कमिटीलाई तालाबन्दी नगर्न हामीले निर्देशन दिइसक्यौँ ।” अहिले नेपाल संस्कृति विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेका छन् ।

अध्यक्ष बडालले तालाबन्दीका कारण विद्यार्थीको पठनपाठनसहित विश्वविद्यालय र क्याम्पस अस्तव्यस्त बन्ने भएकाले तालाबन्दीको विकल्पका रुपमा अन्य आन्दोलन गर्ने बताएका हुन् ।

पत्रकार भेटघाटमा उनले सामुदायिक विद्यालय सुधार गर्न स्थानीय तहले गरेको कार्यलाई सहयोग गर्ने भनाइ राखेका थिए । उनले विश्वविद्यालयका पदाधिकारी नियुक्ति राजनीतिक नभइ ‘बोर्ड अफ ट्रस्ट’का आधारमा गर्न सरकारलाई दबाब दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्