Logo

प्याराग्लाइडिङ उडान खुला



लेखनाथ, १५ पुस । नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशनपछि पोखराको प्याराग्लाइडिङ उडान आइतबारबाट खुल्ने भएको छ । व्यवसायीबिचको विवादले रोकिएको उडान आइतबारबाट हुने नेपाल हवाई खेलकुद संस्था पोखरा र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबले जनाएका छन् ।

प्राधिकरणले शुक्रबार दिउँसो पत्राचार गरी उडान खोल्न अनुमति दिएको थियो । बिहीबार काठमाडौँमा भएको सरोकारवालाको बैठकको निर्णयपछि पहिलो आउने कम्पनीलाई पहिलो पालो दिने गरी उडान थाल्न भनिएको प्राधिकरणका प्रबन्धक समिता शाक्यले बताइन् । व्यवसायीबिचको विवादले मङ्सिर २९ देखि प्राधिकरणले उडान स्थगित गरेको थियो ।

प्राधिकरणको अनुमति र हवाई खेलकुद संस्थाको निर्देशनपछि व्यवसायी र प्यारापाइलटको शनिबार बैठक पनि सम्पन्न भएको छ । त्यसअघि संस्थाले केही व्यवसायीको मागबमोजिम प्याराग्लाइडिङमा एकद्वार प्रणाली हटाएको थियो । संस्थाका पोखरा अध्यक्ष सुनीलबहादुर भट्टराईले मान्द्रेढुङ्गाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उडान हुने जानकारी दिए । अब उक्त संस्थाले अनुगमन मात्र गर्ने जनाउँदै उनले अस्वस्थ प्रतिस्पर्धा हुने र त्यसका कारण दुर्घटनाको जोखिमसमेत बढ्ने चिन्ता जाहेर गरे ।

अब संस्थाले पहिलो आउने कम्पनीलाई पहिलो पालोका रूपमा समय उपलब्ध गराउने छ भने उडान शुल्क व्यवसायी आफैँले तोक्ने छन् । पोखराका ४४ कम्पनीले अहिले रहेको १२ हजार उडान शुल्कमा २५ प्रतिशत छुट दिने भएका छन् भने खुला उडान प्रणाली पक्षधर १३ कम्पनी छलफलमै छन् ।

नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबका निवर्तमान अध्यक्ष विमल पहारी कम्पनीहरूको खुला प्रणालीमा जाँदा कम्पनीबिच अस्वस्थ प्रतिस्पर्धा हुन सक्ने चिन्ता प्रकट गरे । उनले भने, “कम्पनीबिच अस्वस्थ प्रतिस्पर्धा हुँदा एकातिर पाइलटको सुविधा कटौती हुन्छ भने अर्कातिर उडान तनावयुक्त हुँदा दुर्घटनाको जोखिम पनि बढ्छ ।”

अहिले पोखरामा ५२ प्याराग्लाइडिङ कम्पनीले काम गरिरहेका छन् । ती कम्पनीमा एक अर्ब रुपियाँ हाराहारी लगानी छ । ती कम्पनीमा २५८ प्यारापाइलटले काम गरिरहेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्