Logo

प्रधानमन्त्री कप: एपीएफ र कर्णाली विजयी



काठमाडौँ, २९ पुस । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कर्णाली प्रदेश विजयी भएका छन् ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एफीएफले बाग्मती प्रदेशलाई ८९ रनले हराएको हो ।

एफीएफले दिएको २ सय ४२ रनको लक्ष्य पछ्याएको बाग्मती ४२ ओभर ५ बलमा १ सय ५२ रनमा अल आउट भयो । बाग्मतीका कप्तान रित गौतमले सर्वाधिक ६० रन बनाए । एपीएफका कप्तान रोहित पौडेलले ४ विकेट लिएका हुन्  ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन बनायो । एपीएफका सन्दीप जोराले शतक बनाए । जोरा १ सय १७ बलमा १ सय १२ रन बनाएर आउट भए । बाग्मतीका सूर्य तामाङले ३ तथा प्रतिस जीसी र रिजन ढकालले समान ३ विकेट लिएका थिए ।

यस्तै आजै भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । गण्डकीले दिएको १ सय २३ रनको लक्ष्य कर्णालीले ३३ ओभर २ बलमा ३ विकेट गुमाएर भेटायो । कर्णालीका हिमांशु शाहीले ५३ रन बनाए । गण्डकीका अङ्कित न्यौपानेले २ विकेट लिएका हुन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन बनायो । गण्डकीका अमृत गुरुङ र कमल परियारले सर्वाधिक समान २१ रन बनाए । कर्णालीका अनुज चनारा, दिनेश अधिकारी र दीपेन्द्र रावतले समान २ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्