Logo

पूर्वपश्चिम रेलमार्गको भरतपुर रुटबारे विकल्प प्रस्तुत



भरतपुर, १ माघ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको वडा नम्बर ८, ७, ४ र १६ बाट जाने भनिएको पूर्वपश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने बताएकी छन् ।

भरतपुर महानगरपालिकामा शनिबार नेपाल सरकारका भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सरोकारवालासँगको छलफलमा प्रमुख दाहालले वडा नम्बर ११ र १२ बाट नवलपुर वा राप्ती कोरिडोर हुँदै गोलाघाटबाट नवलपुर उपयुक्त विकल्प हुन सक्ने उल्लेख गरिन् । मन्त्री ज्वालालाई प्रमुख दाहालले रेलमार्गको कार्य स्थानीयसँगको सहयोग र सहकार्यबाट टुङ्गोमा पुराउनुपर्ने धारणा राखे ।

“रेल मार्गका लागि विकल्पहीन कुरा गर्न मिल्दैन,” उनले भनिन्, “अहिलेको मार्गबाट धेरै क्षति पुग्छ भने हामीले नै अर्को विकल्प दिन सक्नु पर्छ । हामी रेलवे लाइन पनि चाहियो, भरतपुरमा रेलवे लाइन नहुँदा भरतपुर विकासबाट पछि पर्ने छ ।”

प्रमुख दाहालले अहिलेको विषयलाई पुनरवलोकन हुनुप¥यो भनी छिटोभन्दा छिटो स्थानीयको माग सम्बोधन गराउने उद्देश्यले सरोकारवालाबिच छलफल कार्यव्रmम राखिएको प्रस्ट पारिन् । केही दिनअघि प्रस्तावित मार्गमा रेल विभागले सर्भे गर्ने काम सुरु गरेसँगै स्थानीयहरू आन्दोलित भई महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले अहिलेका लागि प्रस्तावित रेलमार्गको कार्य स्थगित भएको बताए । केही दिनमा रेल विभागका महानिर्देशकसहित प्राविधिक टोलीले विकल्प दिएका रुटका बारेमा अध्ययन गर्ने मन्त्री ज्वालाले जानकारी दिए । यस्ता आयोजनाहरू जनतासँगको छलफलको निष्कर्षपछि मात्रै अगाडि बढ्ने भएकाले तत्काल काम नहुने प्रस्ट पारे ।

छलफलका क्रममा चितवनका राजनीतिक दलका प्रमुखहरूले बिनाकुनै छलफल रेलमार्गको कार्य अगाडि बढाउन नहुने मत व्यक्त गरेका थिए । उनीहरूले विकासको नाममा हुने विनाशले कुनै अर्थ नराख्ने बताए । कार्यव्रmममा बोल्ने अधिकांश वक्ताहरूले जनतालाई सुकुमवासी बनाउने गरी निर्माण हुने आयोजनामा कुनै पनि सहमत हुन नसक्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्