Logo

अभियानका रुपमा मेला-महोत्सव आयोजना हुनु अर्थतन्त्र सुधारको सङ्केत हो: प्रधानमन्त्री



अर्घाखाँची, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो वर्ष निजी क्षेत्र सङ्कटमा रहेकामा यस वर्ष क्रमश: सुधार आई उद्यमी व्यवसायीमा उत्साह सञ्चार भएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीद्वारा सन्धिखर्कमा आज आयोजित ‘आर्थिक विकास, पर्यटन प्रवद्र्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवद्र्धन कार्यक्रम’लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अघिल्लो वर्ष आर्थिक सङ्कटका कारण सार्वजनिक मेला-महोत्सव विरलै हुने गरेकामा यस वर्ष अभियानकै रुपमा महोत्सवहरु आयोजना हुनु अर्थतन्त्र सुधारका दृष्टिले शुभसङ्केत भएको बताएका हुन् ।

प्रधानमन्त्रीले भने, “अघिल्लो वर्ष यस्ता मेला-महोत्सव विरलै आयोजना हुन्थे तर यस वर्ष अभियानकै रुपमा मेला हुन थालेका छन् । विश्व बैङ्कलगायत अन्तरराष्ट्रिय वित्तीय संस्थाले पनि नेपालको अर्थतन्त्रमा क्रमश:सुधार आएको जनाएका छन् । हाम्रा लागि यो शुभसङ्केत हो ।” उनले उद्योगी-व्यवसायीहरूलाई उत्साही भएर काम गर्न आग्रह गरेका छन् ।

देश र जनताका पक्षमा काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएको बताउँदै प्रधानमन्त्रीले कार्य सम्पादनमा कमजोर हुने मन्त्रीलाई हटाउने चेतावनी पनि दिए ।

प्रधानमन्त्रीले अर्घाखाँचीको सिद्धारा-जलुके क्षेत्रमा जनयुद्धकालमा आफू हिँडेको स्मरण गर्दै यस क्षेत्रको पर्यटकीय विकासका निम्ति आफू सकारात्मक रहेको बताए । उनले अर्घाखाँचीको विकासमा सङ्घीय सरकारले प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै जिल्लाको विकासप्रति स्थानीय राजनीतिक दलमा देखिएको एकता र सहकार्यको सराहना गरेका थिए ।

प्रधानमन्त्रीले भने, “गोरुसिङ्गे-सन्धिखर्क सडक निर्माणका निम्ति आवश्यक बजेटको प्रबन्धका साथै गच्छे-भालुवाङ सडकलगायत रणनीतिक परियोजनाहरु सम्पन्न गर्न सङ्घीय सरकारको सहयोग रहनेछ । सन्धिखर्क-शीतगङ्गा र भूमिकास्थान नगरपालिका तथा मालारानी-छत्रदेव र पाणिनी गाउँपालिकाको विकासका निम्ति सङ्घीय सरकारले ध्यान दिनेछ ।”

अर्थतन्त्रलाई चलायमान बनाउन आफू नेतृत्वको सरकारले भरमग्दुर प्रयास गरिरहेको स्पष्ट गर्दै प्रधानमन्त्रीले भने, “जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा थियो । निर्वाचनबाट आएको त्रिशङ्कु संसद्ले राजनीतिक स्थायित्व दिने नदिनेमा निकै ठूलो संशय थियो तर एक वर्षको अनवरत प्रयासबाट देश र जनतासामु विद्यमान चुनौती सम्बोधन हुँदै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्