Logo

धनुषामा श्रीमानको शव फेला, श्रीमती अचेत



धनुषा, १ माघ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-३ पकरियामा शङ्कास्पद अवस्थामा सोमबार एक पुरुषको शव फेला परेको छ । मृतक पुरुषको श्रीमती अचेत अवस्थामा फेला परेकी छन् ।

महोत्तरीको लोहरपट्टी नगरपालिका-३ महदैयाका २२ वर्षीय राधे सहनीको शव फेला परेको छ । उनकी श्रीमती २१ वर्षीया अस्मिता शर्मा अचेत अवस्थामा भेटिएको धनुषा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रन्जन अबाले मोटरसाइकल दुर्घटनामा सहनीको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताए । शव भेटिएको स्थानमा दुर्घटनामा परेको मोटरसाइकल बरामद भएको प्रहरीको भनाइ छ । सो स्थानबाट सहनीको दुई जना साथीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार चार महिनाअघि मात्र अस्मितासँग प्रेम विवाह गरेका सहनी आइतबार श्रीमतीसँगै पकरियास्थित ससुराली घर आएका थिए । ससुराली घर आएको केही बेरपछि उनलाई लिन दुई जना साथी आएका थिए । एउटा मोटरसाइकलमा आफू र श्रीमती र अर्को मोटरसाइकलमा दुई जना साथी सवार भएर क्षीरेश्वरनाथ नगरपालिको महेन्द्रनगर हिँडेको स्थानीयको भनाइ छ ।

महेन्द्रनगरतर्फ हिँडेको २०-२५ मिनटपछि अस्मिता माइती घर अगाडि अचेत अवस्था भेटिएकी थिइन् । छोरीलाई अचेत अवस्थामा देखेपछि पिता बिल्टु शर्माले ज्वाइँ र उनका साथीले मिलेर छोरीलाई कुटपिट गरी अचेत अवस्थामा घर अगाडि छाडेर भागेको हुन सक्ने शङ्का गर्दै अस्मितालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएका थिए ।

उपचार पश्चात् अस्मिता होसमा आएपछि मोटरसाइकल दुर्घटना भएको जानकारी आफन्तलाई गराएपछि दुर्घटनाबारे प्रहरीमा खबर गरेको थियो । दुर्घटना भएको स्थानको खोजी गर्दै जाँदा घटनास्थलमै सोमबार बिहान सहनीको शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्